
गण्डकी — नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर संगठन सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै देउवाले आपसी मनमुटाव त्यागी एकढिक्का हुनुपर्ने बताएका हुन्। उनले पार्टी एकताबद्ध भएमा बहुमत हासिल गर्न सहज हुने उल्लेख गरे।
देशमा राजनीतिक अस्थिरता रहेका कारण नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्य भएको स्पष्ट गर्दै देउवाले एमाले मुख्य प्रतिस्पर्धी भए पनि पूर्ण रूपमा अविश्वास गर्नुपर्ने अवस्था नरहेको बताए।
आफू र प्रधानमन्त्री केपी शर्मा ओली लामो समय जेलमा बसेको स्मरण गर्दै देउवाले भने, “वास्तवमा भन्ने हो भने ओलीजी र मसँगै जेलमा बसेका साथी हौँ। त्यो समयमा निकै कष्ट थियो, छुट्ने सम्भावना पनि थिएन। झापा काण्ड देखाएर जेलभित्रको पनि जेलमा राखिएको थियो। हामी मुख्य प्रतिस्पर्धी हौँ। तर पनि केपी ओलीबाट अविश्वास गर्नुपर्ने अवस्था छैन।”
उनले मुलुकको समग्र विकासका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा पार्टी उपसभापति तथा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले संगठन सुदृढीकरणका लागि तल्लो तहसम्म प्रभावकारी प्रशिक्षण कार्यक्रम अघि बढाइने बताए।
