
चितवन — पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा सहकारी ठगी मुद्दा दर्ता भएको छ। साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा उनीसहित १५ जनाविरुद्ध मंगलबार मुद्दा दर्ता गरिएको हो।
सरकारी वकिलहरूको कार्य व्यस्तताका कारण सोमबार दर्ता गर्ने तयारी भए पनि मंगलबार मात्र मुद्दा दर्ता गरिएको हो। सरकारी वकिल कार्यालयले लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरी ठगी गरेको अभियोगमा मुद्दा दर्ता गरेको जनाएको छ।
यसअघि, चितवन जिल्ला सरकारी वकिल कार्यालयले ढाँचा र तथ्याङ्क नमिलेको भन्दै फाइल प्रहरीलाई पुनः अनुसन्धानका लागि फर्काएको थियो। अनुसन्धान प्रक्रिया पूरा गरेपछि प्रहरीले फाइल पुनः बुझाएपछि मंगलबार सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो।
रवि लामिछानेसहित रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफ अली सिद्दीकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरुङ, र प्रगति श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको छ।
रवि लामिछानेमाथि सहकारी ठगी मुद्दा मात्र दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरअन्तर्गत समेत मुद्दा चलाइएको छ। प्रहरी अनुसन्धान अनुसार, सो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको देखिएको छ। विभिन्न कम्पनीहरूमा गएको रकमसमेत जोड्दा ५६ करोड २२ लाख ५० हजार रुपैयाँ बिगो कायम हुनुपर्ने राय प्रहरीको छ।
यसअघि असोज ८ गते पनि सोही प्रकरणमा १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भइसकेको थियो। लामिछाने यसअघि कास्की, काठमाडौं, र रुपन्देहीका विभिन्न सहकारी ठगी मुद्दामा धरौटी बुझाएर छुटेका थिए। चितवनपछि उनीविरुद्ध बीरगञ्जको सानो पाइला सहकारी प्रकरणमा समेत अनुसन्धान भइरहेको छ।
