
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन महत्वपूर्ण खेलाडीहरूले आगामी फागुनमा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता गुमाउने भएका छन्। हिराकुमारी भुजेल, दीपा शाही, र अमिषा कार्की प्रतियोगितामा सहभागी हुने छैनन्।
डिफेन्डर हिरा र मिडफिल्डर दीपा साफ च्याम्पियनसिपको पहिलो खेलमै घाइते भएपछि प्रतियोगिता नै गुमाएका थिए। उनीहरू अझै पूर्ण रूपमा निको भइनसकेकाले यस पटकको प्रतियोगितामा पनि खेल्न नसक्ने नेपाली महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले जनाएका छन्।
यस्तै, पछिल्लो साफ च्याम्पियनसिप खेल्दा टोलीमा रहेकी अमिषा कार्कीले पनि यस प्रतियोगिता गुमाउने भएकी छन्। उनी हाल नेपाली सेनाको सहायक सेनानी पदमा बढुवा भई तालिममा सहभागी भएकाले टिमबाट बाहिर रहनेछिन्।
यस परिस्थितिमा प्रशिक्षक तामाङले तीन खेलाडीको विकल्प खोज्नुपर्नेछ। एन्फाको आयोजनामा फागुन ५ देखि दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालसँगै म्यानमार, लेबनान, र कीर्गिस्तानको सहभागिता रहनेछ।
