नेकपा एसको गण्डकी अध्यक्षमा नेपाली निर्विरोध

Share:

पोखरा । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटिको अध्यक्षमा कृष्णबहादुर नेपाली निर्विरोध चयन भएका छन्। पोखरा सभागृहमा सोमबार सकिएको उक्त पार्टीको प्रथम अधिवेशनले अध्यक्ष अध्यक्ष, २ उपाध्यक्ष, सचिव, ३ सहसचिव गरी ७ पदाधिकारीसहित भूगोल र विभिन्न क्षेत्रको सहभागिता रहेको १४३ सदस्यीय प्रदेश कमिटी निर्विरोध निर्वाचित गरेको हो।

१४३ सदस्यमध्ये विभिन्न क्लष्टरका ४१ जना सदस्यको पद भने रिक्त रहेको छ। अध्यक्ष नेपाली यसअघि गण्डकी कमिटीको सचिव थिए। तत्कालिन सचिव प्रतापलाल श्रेष्ठ एमालेमै फर्केपछि उपसचिव रहेका नेपालीलाइ सचिवको जिम्मेवारी दिइएको थियो। यसैगरी उपाध्यक्षमा बिष्णु गिरी र मुक्तिनाथ पौडेल, सचिवमा ठाकुरप्रसाद शर्मा, उपसचिवमा टीकाराम पौडेल, विवेक भूजेल र सुष्मा काफ्ले निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचित अध्यक्षसहित सिंगो कमिटिलाई अध्यक्ष मण्डलका अध्यक्ष तथा नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पद तथा गोपनियताको सपथ दिलाएका थिए। माघ २६ र २७ गरी दुई दिन अधिवेशन राखिएको भएपनि एकदिन बढी लागेको थियो। नेतृत्व लगायत सिंगो कमिटी निर्विरोध निर्वाचित गर्नका लागि समय थप भएको पार्टीका एक नेताले बताए।

तर स्रोतका अनुसार पार्टी अध्यक्षका आकांक्षी बढी भएपछि सर्वसम्मत् रुपमा मिलाउन समय लागेको थियो। अध्यक्षमा नेपाली सहित कास्कीका प्रेमप्रसाद पौडेल, स्याङजाका बिष्णु गिरी, गोरखाका यादब बस्नेतलगायत आकांक्षी देखिएका थिए। अन्तिममा नेपालीको टुंगो लागेको हो।

यस्तै अधिवेशनमा प्रदेशका ११ वटै जिल्ला, विभिन्न जनसंगठन र मजदुर फाँटबाट गरी ४ सय प्रतिनिनिधिको सहभागिता रहको थियो। कमिटीको कार्यकाल ४ वर्षको हुनेछ। अधिवशेन सम्पन्न गर्नकालागि १२ वटा उपसमिति गठन गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: