
पोखरा। पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई फराकिलो गोलान्तरले हराउँदै ब्ल्याक बुल्स सेमिफाइनल प्रवेश गरेको छ।
पोखरा रंगशालामा भएको क्वाटरफाइनलको अन्तिम खेलमा ब्ल्याक बुल्सले ३-० गोलान्तरले जित निकालेको हो।
ब्ल्याक बुल्सको जितका लागि इस्लोम्जन अब्दुकोडिरोभ, सयदज्मोल दब्लाजोनोभ र शाब्कात्जोनले १र१ गोलको योगदान दिए। खेलको ३८औं मिनेटमा ब्ल्याक बुल्सले पहिलो गोल गर्दै खाता खोलेको थियो।
टिमका लागि पहिलो गोल इस्लोम्जन अब्दुकोडिरोभले गरे। उनले साभकात्जोनले मिलाएको पासलाई सदुपयोग गर्दै पेनाल्टी बक्सको बायाँ भागबाट गोल गरे।
त्यस्तै खेलको ७३औं मिनेटमा सयदज्मोल दब्लाजोनोभले व्यक्तिगत पहिलो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले आकर्षक गोल गर्दै अग्रता दोब्बर पारेका हुन्।
उनले साभकातले दायाँ साइडबाट दिएको पासमा गोल गरेका हुन् । त्यसको केहीबेर पछि नै शाब्कात्जोनले गोल गर्दै टिमलाई ३-० को सहज स्थितिमा ल्याए। उनले खेलको ७५औं मिनेटमा बक्स बाहिरबाट हानेको प्रहार सिधै गोलमा परिणत भएको थियो।
सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई पहिलो खेलमा संकटा एफसीलाई पराजित गर्दै क्वाटरफाइनल पुगेको हो भने ब्ल्याक बुल्स बाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो। ब्ल्याक बुल्स पहिलो पटक नेपालमा आएर खेलिरहेको हो।
योसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ।
सेमिफाइनल अन्तर्गत भोलि हुने पहिलो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ। त्यस्तै फागुन १ गते दोस्रो सेमिफाइनलमा थ्री स्टार र ब्ल्याक बुल्सबीच हुनेछ।
