थ्रीस्टार क्लब हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश

Share:

पोखरा । उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा ५ पटकको विजेता थ्री स्टार क्लबलाई फराकिलो गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको हो।

ब्ल्याक बुल्सले अब उपाधिका लागि शनिबार नेपाल पुलिस क्लबसँग भिड्नेछ। पुलिसले पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १-० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

दोस्रो सेमिफाइनलमा उज्बेकिस्तानको ब्ल्याक बुल्सले थ्री स्टारलाई ४-० को फराकिलो गोलन्तरले पराजित गर्न सफल रह्यो। पहिलो हाफको एक गोल गरेको ब्ल्याक बुल्सले दोस्रो हाफमा थप ३ गोल गर्यो। खेलको २४औं मिनेटमा ब्ल्याक बुल्सका शाभकात्जोन सात्तोरोभले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ५८औं मिनेटमा असिलबेक ओरिफजोनोभले गोल गर्दै ब्ल्याक बुल्सलाई अग्रता दोब्बर बनाएका थिए। ६३ औं मिनेटमा सात्तोरोभले व्यक्तिगत दोस्रो र टोलीको लागि तेस्रो गोल गरे।

८७औं मिनेटमा सइदजमोल दाभ्लातिनोभले गोल गर्दै ब्ल्याक बुल्सको अग्रता ४ गुणा पुग्यो। त्यसपछि दुवैतर्फ गोल हुन सकेन र ब्ल्याक बुल्स ४-० ले विजयी हुन सफल भयो।

आहा रारामा पहिलो पटक सहभागी भएको ब्ल्याक बुल्स पहिलोपटकमै फाइनल यात्रा तय गरेको हो। सहारा क्लब पोखराको आयोजनामा भइराखेको प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।

कमेन्ट गर्नुहोस्
Share: