अर्थमन्त्री पौडेल र मेयर आचार्यको जलन ५ देखि ६ प्रतिशत, कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार जारी

276
0
Share:

काठमाडौँ । पोखरामा बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको सघन उपचार कक्षमा उपचार जारी रहेको अस्पतालले जनाएको छ।

‘उहाँहरुको प्रारम्भिक मूल्यांकन अनुसार ५/६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकोले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ’ अस्पतालले शनिबार विज्ञप्ति जारी गरेर भनेको छ।

अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार उनलाई दिउँसो ३ बजेतिर अस्पताल ल्याइको हो। मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ।

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो। बेलुनमा आगो टिपेपछि उनीहरूको शरीरमा आगो सल्किएको थियो।

दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो।

कमेन्ट गर्नुहोस्
Share: