पोखरा भ्रमण वर्षको उद्घाटन क्रममा कसरी पड्कियो बेलुन ?

Share:

काठमाडौँ। शनिबार अर्थमन्त्री विष्णु पौडेल सहभागी पोखरा भ्रमण वर्षको उद्घाटन क्रममा बेलुन उडाउने क्रममा अर्थमन्त्री र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भए। भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा झिर्झिरे क्यान्डिलको झिल्का परेर उक्त दुर्घटना भएको पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले बताएका छन्।

उक्त दुर्घटनमा घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई प्राथमिक उपचारका लागि गण्डकी अस्पताल लगिएको थियो। पछि थप उपचारका लागि हेलिकप्टमार्फत काठमाडौँ ल्याइएको छ। अहिले दुवै जनाको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइहेको छ। दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ।

अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले दुवै जनाको ५-६ प्रतिशत शरीर जलेको जानकारी दिएका छन्। तर, अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेको उनले बताए। उनीहरूलाई उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने आवश्यकता देखिएको पनि उनले जानकारी दिए।

दुवै जनाको उपचारमा प्राडा विडी झा, डा. प्रवीण गिरीलगायत छन्। त्यस्तै प्राडा शंकरमान राई, विशाल कार्की, मनीष यादव लगायत जलन विशेषज्ञ टोली र डा. प्रयुस अर्याल लगायत आकस्मिक उपचार टोलीले मन्त्री पौडेल र मेयर आचार्यको उपचार गरिरहेका छन्। यसैगरी रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ टोली पनि उपचारमा संलग्न छ।

के हुन्छ बेलुनमा ? कसरी पड्किन्छ ?

सामान्यतया बेलुनमा हाइड्रोजन हिलियम र तातो हावा भर्ने गरिन्छ। तर, पोखरामा पड्किएको बेलुनमा हाइड्रोजन ग्यास भरिएको बताउँछन् त्रिभुवन विश्वविद्यालय रसायन शास्त्र केन्द्रीय विभागका सह-प्राध्यापक अच्युत अधिकारी।

नेपाल केमिकल सोसाइटीका महासचिवसमेत रहेका अधिकारी सुरक्षाका हिसाबले बेलुनमा हिलियम ग्यास भर्नुपर्ने बताउँछन्। ‘तर पोखराको केसमा हिलियम ग्यास नभरेर हाइड्रोजन ग्यास भरिएको देखिएको छ। हाइड्रोजन ग्यासमा आगो लाग्छ, हिलियममा लाग्दैन। त्यसरी ब्लाष्ट हुने हाइड्रोजन नै हो,’ उनले भने, ‘सस्तो हुने र धेरै माथिसम्म उड्ने भएकाले हाइड्रोजन ग्यास भर्ने गरिन्छ। हाइड्रोजनको तुलनामा हिलियम ग्यास धेरै महँगो हुन्छ।’

आगामी दिनमा यस्तो ग्यास भरिएको बेलुन प्रयोग गर्दा सचेत हुनुपर्ने उनले बताए। हाइड्रोजन ग्यास भएको बेलुन आगोमा पर्दा पड्किने उनको तर्क छ। पोखराको उक्त कार्यक्रमस्थलको सजावट ५-६ वर्षदेखि गरिरहेको कम्पनीले नै गरेको पोखरा महानगरका प्रवक्ता तिम्सिना बताउँछन्।

घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका गृहमन्त्री रमेश लेखकले आगामी दिनमा यस्ता घटना दोहरिन नदिन सतर्कता अपनाउनुपर्ने बताएका छन्।

कमेन्ट गर्नुहोस्
Share: