
पोखरा-३०, खुदी, ढुंगेपाटनस्थित विश्वविद्यालय प्राङ्गणमा हुने भएको छ। समारोहको प्रमुख आतिथ्यता शिक्षाविद् जोर्ज जोनले गर्नेछन् भने अध्यक्षता प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले गर्नेछन्।
दीक्षान्त समारोहमा ७,८७२ विद्यार्थी दीक्षित हुनेछन्। त्यसमध्ये ३० जनाले विशिष्ट पदक प्राप्त गर्नेछन् भने ७४५ विद्यार्थीलाई डीन लिस्टको उपाधिबाट सम्मान गरिनेछ।
विश्वविद्यालयका ४ आंगिक क्याम्पस, ३ संयुक्त आंगिक क्याम्पस र ५८ सम्बन्धनप्राप्त कलेजहरूमा हाल ६८ कार्यक्रम सञ्चालनमा रहेका छन्, जसमा करिब ४० हजार विद्यार्थी अध्ययनरत छन्।
पछिल्लो वर्षको तुलनामा विद्यार्थी संख्या ३८ प्रतिशतले वृद्धि भएको विश्वविद्यालयले जनाएको छ। त्यस्तै, समयानुकूल पाठ्यक्रम परिमार्जन, तोकिएको मितिमा परीक्षा तथा परीक्षाफल प्रकाशनले विद्यार्थी आकर्षण बढेको बताइएको छ। विश्वविद्यालयले वार्षिक रूपमा १५ सयभन्दा बढी विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्दै आएको छ।
दीक्षान्त समारोहमा विश्वविद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूको सहभागिता रहने छ।
