
पोखरा। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कास्की गण्डकी प्रदेश स्तरीय दोहोरी गीत प्रतियोगिताको च्याम्पियन बनेको छ। प्रतियोगिताको फाइनलमा कास्कीका अर्चना चापागाई र अनिल चापागाईको जोडीले बिसौनी दोहोरी साँझका बेलबहादुर सुनार र सपना सुनारको जोडीलाई पराजित गरेको हो।
च्याम्पियन बनेको कास्कीले ५० हजार नगद र उपविजेता बिसौनीले २५ हजार नगद सहितसहित प्रमाणपत्र प्राप्त गरेको निर्णायक संयोजक तारापति सुवेदीले जानकारी दिए। प्रतियोगितामा ससुराली रोधी घरका सुदीप सापकोटा र ललिता घर्तीमगर तृतीय भएका छन्।
दोहोरी गीत प्रतिष्ठान नेपाल बागलुङका सुमन खड्का र जमुना सुनारको जोडीले सान्त्वना पुरस्कार जितेको छ। प्रतियोगितामा तृतीय हुने समूहले १५ हजार नगद र सान्त्वना हुने समूहले ८ हजार नगदसहित प्रमाणपत्र प्रदान हात पारे।
प्रतियोगितामा प्रतिष्ठान नेपाल गोरखाका रोशन परियारले उत्कृष्ट गायकको उपाधि जितेका छन्। प्रतियोगितामा प्रतिष्ठान नेपाल पर्वतकी शोभा परियारले उत्कृष्ट गायिकाको उपाधि जितेको प्रतिष्ठान नेपाल कास्कीका अध्यक्ष तुलसी क्षत्रीले जानकारी दिइन्। प्रतियोगिताका उत्कृष्ट गायक गायिकाले जनही ५ हजार नगदसहित प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ।
पर्यटन प्रवद्र्धनका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीले आयोजना गरेको प्रतियोगितामा प्रतिष्ठान नेपालका जिल्ला कार्यसमिति, दोहोरी साँझ गरी १३ समूहले प्रतिस्पर्धा गरेका छन्। गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको विशेष सहयोगमा २ दिने प्रतियोगिता भएको हो।
प्रतियोगिताका निर्णायकमा तारापति सुवेदी, जीवन दाहाल, शंकरविरही गुरुङ, पार्वती जिसी, सरला पाण्डे, चोलेन्द्र पौडेल, केशव देवकोटा, बद्री पराजुली, राजन कार्की लगायत छन्।
कार्यक्रममा लोक तथा दोहोरी गीतको संरक्षण र प्रवद्र्धनमा टेवा पुर्याएवापत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्षहरु प्रजापति पराजुली र पुरुषोत्तम न्यौपानेलाई सम्मान गरिएको छ। गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले प्रतियोगिता उद्घाटन गरेका थिए।
‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, अग्रजको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने नाराका साथ भएको प्रतियोगितामा निर्णायक संयोजक तारापति सुवेदी, प्रतिष्ठान नेपाल कास्कीका प्रथम उपाध्यक्ष परशुराम अधिकारी, सचिव सुनील गायक, प्रतियोगिता संयोजक नवराज अधिकारीले लोक तथा दोहोरी गीतबारे बोलेका थिए।
