
पोखरा। पोखरा रंगशालामा आयोजना हुने तय भएको विराट चक्र विज्ञान कार्यक्रम मौसम र प्राविधिक कारणले स्थगित गरिएको छ। यसअघि तोकिएको स्थानमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएपछि वेकल्पिक स्थानको खोजी गरिए पनि सम्भव नभएको आयोजकहरूले जनाएका छन्।
त्यसो त रंगशालामा बालबालिकाहरुले फुटबल अभ्यास गर्दै आएको स्थानमा विराट चक्र विज्ञान कार्यक्रम गर्न लागेको भनी खेलसम्बद्ध संस्था र व्यक्तिहरुले विरोध पनि गर्दै आएका थिए।
विरोधका वापजुद तयारी थालिए पनि मंगलबार साँझपखको हावाहुरी सहितको पानीले शिविरस्थलमा निर्माणाधीन संरचनामा क्षति पुर्याएपछि आयोजकमाथि अर्को सकस थपिएको हो।
यसै सन्दर्भमा, दर्ता प्रक्रिया पूरा गरिसकेका सहभागीहरूले फागुन ११ गतेभित्र मात्र नयाँ स्थान तोकिएपछि कार्यक्रममा सहभागिता जनाउन सक्ने आयोजक जीवन विज्ञान केन्द्रले विज्ञप्ति निकालेर जानकारी गराएको छ।
फागुन ६ गते साँझ ६ बजेभित्र नाम दर्ता गरिसकेका सहभागीहरूलाई मात्र क्युआर कोड प्रदान गरिने भएको छ। त्यसैगरी, गण्डकी स्वाजागरको फागुन १० गते सम्पन्न हुने भनिएको समापन उत्सव हाललाई स्थगित गरिएको छ।
आयोजक जीवन विज्ञान केन्द्रले यसले पारेको असुविधाप्रति खेद व्यक्त गर्दै सहभागीहरूको सहयोग र धैर्यताका लागि आभार व्यक्त गरेको छ।
