
पोखरा। नेकपा (एमाले) कास्की जिल्ला कमिटीले आगामी तीन महिने ‘जरा अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ। माघ महिनादेखि चैतसम्म सञ्चालन हुने यस अभियानको उद्देश्य पार्टीको जनसंगठनको विस्तार र सदस्यता नवीकरण गर्दै स्थानीय तहमा पार्टीको उपस्थितिलाई सुदृढ बनाउने रहेको कास्कीका सचिव दर्शन लामाले जानकारी दिए।
अभियान सुरु गर्न फागुन ९ गते बिहान ११ बजे सभागृहमा जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव पद्मा अर्याल, खगराज अधिकारी तथा स्थायी कमिटी सदस्य किरण गुरुङ लगायतका केन्द्रीय नेताहरुको उपस्थिति रहने सचिव लामाले जानकारी दिए।
‘जरा अभियान’ को उद्देश्य पार्टीको संगठनात्मक मजबुतीलाई प्रगाढ बनाउनु र जनसंगठनको विस्तार गर्ने रहेको उनले सुनाए। ‘यस अभियानले पार्टीका गतिविधिहरूलाई गाउँ-गाउँमा पुर्याउने महत्वपूर्ण अवसर प्रदान गर्नेछ र यसले जनसंगठनलाई थप सक्रिय बनाउन मद्दत गर्नेछ। पहिलो कुरा, त यो जरा अभियानले गुटबन्दी अन्त्य गर्नेछ,’ लामाले भने।
कास्की जिल्लामा पार्टीका कार्यकर्ताहरूलाई जनताको घर/घरमा पुगेर पार्टीका नीति र गतिविधिहरूको बारेमा जनतालाई जानकारी गराउन अभियान सुरु गर्न लागिएको हो।
फागुन १ गते बैनबहादुर क्षेत्री अध्यक्षतामा बसेको बैठकले जरा अभियान टोल कमिटी हुँदै जनताको घरघरमै पुग्ने निर्णय गरेको हो। कार्यक्रममा कास्की जिल्लाका सबै तहका कमिटीलाई एकजुट गरेर जनसंगठनको विस्तार र पार्टी सदस्य बढाउने सचिव लामाले जानकारी दिए।
‘हामीले यस अभियानमार्फत सदस्यता नवीकरण र पार्टीको राजनीतिक प्रभावलाई स्थानीय तहमा बलियो बनाउने योजना बनाएका छौं। यस अभियानले पार्टीलाई जनतासँग जोड्न र जनसंगठनको स्तरलाई पनि उचाइमा पुर्याउने छ। अहिलेको सरकारले गरेका राम्रा कामलाई घरघरमा पुर्याउने हाम्रो उद्देश्य हो,’ लामाले भने।
बैठकमा लिइएका निर्णयहरूमा प्रमुख रूपमा जरा अभियानका कार्यतालिका, सदस्यता नवीकरण र जनसंगठनको बैठकहरूको आयोजना गर्ने कुरा उल्लेख गरिएको छ। यो अभियान अन्तर्गत जनप्रतिनिधिहरूसँगको समन्वयलाई सुधार्ने, पार्टीका गतिविधिहरू र योजनाहरूलाई जनतासम्म पुर्याउने र जनप्रतिनिधिहरूसँगको सहकार्यलाई मजबुती दिने लक्ष्य राखिएको छ।
अभियानको अर्को महत्वपूर्ण लक्ष्य जनसंगठनहरूको सक्रियता बढाउने र पार्टी सदस्यहरूको संख्यामा वृद्धि गर्ने हो। यसले आगामी स्थानीय चुनावमा पार्टीको सशक्त उपस्थितिलाई सुनिश्चित गर्ने जनाइएको छ।
