
काठमाडौँ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको गृहजिल्ला रुपन्देही ल्याएर अन्त्येष्टि गरिएको छ।
उनको शव गएराति १२ बजे रुपन्देहीको सिद्धार्थननगर नगरपालिका- ८ स्थित बैंकरोड कोलोनीमा ल्याइएको थियो। त्यसपछि स्वर्गद्वारी घाटमा लगेर अन्त्येष्टि गरिसक्दा आज बिहीबार बिहान चार बजेको थियो।
रुपन्देही प्रहरीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले भने, ‘आज बिहान करिब चार बजे अन्त्येष्टि सकियो। अहिले यहाँको स्थिति नर्मल छ।’
डीएसपी कार्कीका अनुसार प्रकृतिको शव ओडिसाबाट गोरखपुरसम्म हवाईजहाजमा र गोरखपुरबाट घरसम्म गाडीमा ल्याइएको थियो।
ओडिसाको राजधानी भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको कलेजमा बी-टेक अध्ययन गरिरहेकी प्रकृति गत आइतबार होस्टलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
सोही कलेजमा अध्ययनरत भारतकै विद्यार्थी अड्विक श्रीवास्तवले दिने गरेको मानसिक यातनामा कजेल प्रशासन मौन रहनु प्रकृतिको मृत्युको कारण भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
प्रकृतिका आफन्त सिद्धान्त सिग्देलले कलेज प्रशासनलाई अड्विक श्रीवास्तवले पटकपटक दिइरहेको मानसिक यातनाबारे प्रमाणसहित दुई पटक उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएको अनलाइनखबरलाई बताएका थिए।
प्रकृति मृत अवस्थामा भेटिएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुले न्यायको माग गर्दै प्रदर्शन गरेका थिए। त्यसपछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरुमाथि कुटपिट र दुर्व्यवहार गर्दै घर फर्किन भनेको थियो।
तर नेपाल सरकारको कूटनीतिक पहलपछि विश्वविद्यालय प्रशासनले माफी माग्दै नेपाली विद्यार्थीहरुलाई फर्किएर पढाइ जारी राख्न भनेको थियो। उसले नेपाली विद्यार्थीहरुलाई लक्षित गरी हेल्पडेस्क समेत स्थापना गरेको छ। तर नेपाल आइपुगेका कतिपय नेपाली विद्यार्थीहरुले असुरक्षित महसुस गरेको बताएका छन्।
