
काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। खानी तथा भूगर्भ विभाग मातहतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो।
केन्द्रबिन्दु सिन्धुपाल्चोकमा भूकम्पले हालसम्म सामान्य क्षति पुगेको विवरण जिल्ला प्रहरीले सार्वजनिक गरेको छ। बिहान पौने ६ बजे प्राप्त विवरणअनुसार भूकम्पले मानवीय र ठूलो भौतिक क्षति भएको छैन।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार आत्तिएर भाग्ने क्रममा हात भाँचिएका एक जना कैदीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। भूकम्पले कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ।
यसैगरी भोटेकोसी गाउँपालिका-३ स्थित दुगुनागढीमा पहिरो खसेको छ। भूकम्पबाट भएको क्षति विवरण पठाउन मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिनासाथ सूचना संकलन गरिरहेको प्रजिअ थापाको भनाइ छ।
राजधानी काठमाडौं र आसपासमा भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ। भूकम्पका कारण रातको समय निद्रामा रहेका मानिससमेत खुला स्थानमा निस्किएका थिए।
