जलवायु मुद्दालाई रास्वपाले केन्द्रमा राखेको सांसद सोबिताको दाबी

285
0
Share:

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले नेपालका राजनीतिक दलहरूले बहसको सीमितता तोकिदिँदा जलवायु मुद्दामा संवाद गर्न गाह्रो हुने गरेको गुनासो गरेकी छिन्।

उनले आफू नेतृत्व पार्टीले भने वातावरणीय विषयलाई केन्द्रमा राखेको जिकिर गर्दै अन्य पार्टीको हकमा यस्तो हुन नसकेको जिकिर गरिन्।

थाइल्यान्डको बैंककमा आयोजित संयुक्त राष्ट्र संघीय क्षेत्रीयस्तरको यूएन युथ सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएकी हुन्। गत मंगलबार बैंकक पुगेकी सांसद गौतम आज (शुक्रबार) नेपाल फर्कंदैछिन् ।

सो-क्रममा बैंककमा रहँदा आयोजना गरिएको उक्त सम्मेलनमा उनलाई जलवायु क्षेत्रमा युवा सहभागीता, युवा नेताका रुपमा आफूले सामना गर्नुपरेका चुनौती, वातावरणीय मुद्दा लगायतका विषयमा प्रश्न गरिएको थियो।

जवाफको क्रममा सांसद गौतमले भनेकी छिन्, ‘राजनीतिक दलहरूले बहसको सीमितता तोकिदिन्छन्, जसले गर्दा जलवायु मुद्दामा खुला संवाद गर्न गाह्रो हुन्छ। मेरो पार्टीले वातावरणीय विषयलाई केन्द्रमै राखेको छ तर अन्य पार्टीको हकमा यसो हुन सकेको छैन।’ जसकारण जलवायु नीति सुधारका लागि गहिरो छलफल गर्न नसकिने उनले बताइन्।

‘सबैभन्दा पहिले, जलवायु सुशासनमा युवाहरूको सहभागिता सुनिश्चित गर्ने क्रममा मैले सामना गरेको प्रमुख चुनौती भनेको वातावरणीय विषयमा काम गर्न संसदभित्र स्वयं प्लेटफर्म निर्माण गर्न सकिएको छैन। राजनीतिमा एक पटक पाइला राखेपछि सबै कुरा राजनीतिकरण हुन्छ,’ गौतमले गुनासो गरिन्।

जलवायु नीति निर्माणका अन्य क्षेत्रमा जस्तै त्यहाँ पनि पुराना पुस्ताको दबदबा रहेको पनि उनले बताएकी छिन्। ‘म प्रत्यक्ष निर्वाचित सांसद हुँ, तर मेरो भूमिका प्रायः कानुन संसोधनमा सीमित हुन्छ, अन्तिम निर्णय त बहुमतको हातमा नै रहन्छ,’ उनले भनिन्, ‘यसले देखाउँछ कि युवा नेताहरूको उपस्थिति भए पनि हाम्रो प्रभाव सीमित नै रहन्छ।’

कमेन्ट गर्नुहोस्
Share: