जब १३औं बच्चाको पिता बने एलन मस्क तब विवादमा परे

Share:

काठमाडौँ । प्रविधि जगतका दिग्गज व्यक्तित्व तथा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दाहिने हात मानिएका अर्बपति एलन मस्क निरन्तर चर्चामा रहिरहने नाम हो। तर, यसपटक चाहिं उनलाई चर्चामा ल्याएको विषय कुनै नयाँ प्रविधिको वा अन्तरिक्ष अन्वेषणको होइन। उनी आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा आएका छन्।

सेलिब्रेटी एश्ले सेन्ट क्लेयरले आफ्नो एक बच्चाको पिता एलन मस्क भएको भन्दै अमेरिकाको म्यानहटन सर्वोच्च अदालतमा एक निवेदन दर्ता गराएकी छिन्। आफ्नो ५ महिने बच्चाको पिता एलन मस्क भएको उनको दाबी छ। साथै उनले अदालतसँग बच्चाको पूर्ण संरक्षकत्वका साथै एलन मस्कको पितृत्व परीक्षणको आदेश दिन पनि माग गरेकी छिन्।

न्युयोर्क पोस्टका अनुसार अदालतमा क्लेयरले पेस गरेका दस्तावेजमा मस्कको एउटा तस्वीर संलग्न छ, जसमा उनी एक नवजात बच्चालाई काखमा लिएको देखिन्छ। यसका अलावा मस्क र क्लेयरको बीचमा भएका भनिएका च्याट सम्वादहरु पनि अदालतमा पेस गरिएको छ, जसमा बच्चा जन्मिएपश्चात् मस्कले सबै कुरा ठीक छ नि ? भनेर क्लेयरलाई सोधेको कुरा पनि रहेको छ। साथै एउटा अर्को च्याटमा मस्कले आफू आमा (क्लेयर) र बच्चालाई छिट्टै हेर्नका लागि आतूर रहेको बताएका छन्।

तर, मस्कले केवल तीन पटक मात्रै बच्चालाई हेरेको र त्यस बाहेक बच्चाका बारेमा कुनै परवाह नै नगरेको आरोप क्लेयरले लगाएकी छिन्। साथै बच्चाको जन्म प्रमाणपत्रमा सुरक्षाका कारणले गर्दा पिताको नाम खाली छाडिएको दाबी उनको छ। आफूलाई दिनहुँ ज्यानमार्ने धम्की आउने गरेको भनेर मस्कले बताउने गरेका कारण आफ्नो बच्चाको पिताको नाम प्रमाणपत्रमा नलेखिएको उनको जिकिर छ।

कमेन्ट गर्नुहोस्
Share: