
पोखरा । पोखरामा मंगलबारदेखि दोश्रो अन्तर क्लव पुरुष टि-२० क्रिकेट प्रतियोगिता २०८१ हुने भएको छ। पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा मंगलबार फागुन २० गतेदेखि सुरु हुने प्रतियोगिता फागुन २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ।
प्रतियोगिता इडेन हेभेन क्रिकेट मैदान, लेखनाथमा हुने पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष विरेन पुनले जानकारी दिए। प्रतियोगितामा पोखराका विभिन्न ९ वटा क्लब सहभागि हुने पुनले बताए। उनका अनुसार प्रतियोगितामा माछापुच्छे क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाईड क्रिकेट क्लब, राईजिङ क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब, गण्डकी स्पोर्टस् क्लब र अरण्यज्योती क्रिकेट क्लब सहभागि हुँदैछन्।
प्रतियोगितामा सहभागि टिमलाई ३ समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतिष्पर्धा गराईने पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ। प्रतियोगितामा सहभागि सबै क्लबले कम्तिमा दुई/दुई खेल खेल्ने पाउने छन्। लिग चरणमा शिर्षस्थान हासिल गर्ने हरेक समुहबाट एक क्लब सेमिफाइनलमा प्रवेश गर्ने अध्यक्ष पुनले जानकारी दिए।
उनका अनुसार शिर्ष तीन मध्ये उच्च रनरेट प्राप्त टिम भने सिधै फाइनलमा पुग्नेछ। प्रतियोगिताका विजेता तथा उपविजेता टिमले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी हरेक खेलमा म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेष्ट व्याटर, वेष्ट बलर लगायतलाई पुरस्कार प्रदान गरिने जनाईएको छ।
