सराङकोटमा जारी महायज्ञमा भक्तजनको घुइचो, आज एकैदिन ४० लाख दान संकलन

Share:

पोखरा। सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्त्यतिर आइरहदाँ भक्तजनको सहभागिता एवम् दान रकम ह्वात्तै बढेको छ। महायज्ञको छैटौं दिन आज सोमबार करिव २० हजार भक्तजनले यज्ञ अवलोकन गरेका छन्। सोमबार मात्रै ४० लाखभन्दा बढी दान संकलन भएको महायज्ञका कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिए। उनका अनुसार हालसम्म महायज्ञमा एक करोड ५३ लाखभन्दा बढी दान संकलन भएको छ।

सोमबार एक सयभन्दा बढी आमा समूह, टोल विकास संस्था तथा अन्य संघसंस्थाले सहयोग गरेका छन्। पोखराका विभिन्न वडा, छिमेकी पालिका, पर्वत, तनहुँ एवम् धादिङबाट समेत विभिन्न संघसंस्था सराङकोट धाम पुगि दान गरेका हुन्। आज दान लिन तथा भक्तजनको व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे परेको बताइएको छ। यसअघि महायज्ञ स्थल तथा धाम गरी २ ठाउँबाट दान संकलन गर्ने गरिएकोमा आज सोमबार सचिवालयबाट समेत गरी ३ स्थानबाट दान संकलन भएको थियो। भक्तजनको उल्लेख्य सहभागिता हुदाँ केबलकारमा दिनभरि नै ओहोरदोहोर चलिरहेको थियो।

‘सराङकोट निकै रमाइलो छ, यो जिउँदै स्वर्गको अनुभव गर्ने ठाउँ हो, यहाँ पुगेपछि जो कोहीको मन पनि लोभिन्छ मात्रै हैन् आकर्षित पनि हुन्छ। आज सराङकोट धाममा रमाइलो भयो’, पोखरा-१६ बाटुलेचौर स्थित मैदान आमा समूहकी सदस्य अञ्जु थापाले भनिन्। यज्ञमा सोमबार पोखरा १८ निवासी गौमती जिसी परिवारले ३ लाख ४८ हजार ९ सय ९९, पोखरा न्यूरोड निवासी तीर्थबहादुर, उर्मीला बस्नेत परिवारले २ लाख ३३ हजार ३ सय ३३, त्यस्तै पोखरा ८ निवासी कृष्णबहादुर कुँवर परिवारले पनि समान २ लाख ३३ हजार ३ सय ३३ दान गरेका छन्।

त्यस्तै पोखरा-१८ निवासी रमेश सुशिला थापा परिवारले १ लाख ११ हजार १ सय ११, बालहितकारी परियोजना पोखरा १५ नयाँगाउँले १ लाख १ हजार १ सय ११, पुन समाज नदीपुरले ५३ हजार १ सय ११, पोखरा १८ मेथलाङका गोविन्द तथा ईश्वर गौतम परिवारले ५१ हजार १ सय ५५, पोखरा १८ तोरीपानीकी सुमित्रा तिमिल्सीनाको परिवारबाट ५१ हजार १ सय ५५, पोखरा २२ पुग्दीभुम्दी निवासी चन्द्रकान्त वराल परिवारबाट ५१ हजार दान प्राप्त भएको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले जानकारी दिए।

सोमबार यज्ञलाई सम्बोधन गर्दैँ पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सराङकोट पवित्र भूमि भएको चर्चा गर्दैँँ यहाँको वृद्धि विकासमा महानगरपालिका प्रयत्नशील रहेको सुनाए। उनले धार्मिक पर्यटकीय क्षेत्र अन्र्तगत आगामि दिनमा विश्व बैंकको सहयोगमा सराङकोटमा विभिन्न संरचना निर्माण हुने स्पष्ट पनि गरे।

महायज्ञ सुरुका दिनको तुलनामा व्यवस्थित बन्दै गइरहेको प्रसाद वितरणमा दिनभरजसो युवाहरु खटिएको युवा परिचालन उपसमिति संयोजक बलराम तिमिल्सीनाले बताए। यज्ञ अन्र्तगत सोमबार वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले स्थानीय चण्डी मन्दिरको उद्घाटन पनि गरेका थिए।

सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ। हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन्। ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ। यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ।

कमेन्ट गर्नुहोस्
Share: