
पोखरा। सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव भोली बुधबार सकिदैँछ। भोली महायज्ञको नियमित कार्यक्रमका अतिरिक्त समापन समारोह हुने प्रसारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिए। भोली नै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले त्यहाँ निर्मित बुहुउद्देश्यीय सामुदायिक भवनको उद्घाटन गर्ने तथा समापन समारोहलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सोही अवसरमा सहयोगकर्ता विभिन्न संघसंस्था एवम् व्यक्तिलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ। मंगलबार आज मात्रै महायज्ञमा ५५ लाख बढी दान संकलन भयो । योसँगै आजसम्म यज्ञमा कुल २ करोड ८ लाख बढी दान संकलन भएको छ।
मंगलबार पोखरा-१८ निवासी हरी, कल्पना ढकाल क्षेत्री परिवारबाट २ लाख ३३ हजार ३ सय ३३, पोखरा ८ निवासी रमेश, सिर्जना बराल परिवार, पोखरा ३ निवासी विरेन्द्रमान् पालिखे, पोखरा ८ निवासी महेन्द्र, बीरेन्द्र तथा विक्रम बिजुक्छे परिवारबाट समान २ लाख ३३ हजार ३ सय ३३ दान प्राप्त भयो।
त्यसैगरी सराङकोट निवासी बीरबहादुर, भरतबहादुर जिसी परिवारबाट २ लाख २३ हजार ३ सय २३, सराङकोट सिमतालका कृष्णबहादुर, गोमा थापा परिवारबाट १ लाख २४ हजार ५, सराङकोट क्यानचोक निवासी चुडामणि तिमिल्सीना परिवारबाट १ लाख १ हजार १ सय ११, पर्यटन महिला समूह सराङकोट टपबाट ५५ हजार, पोखरा ६ निवासी ज्ञानेन्द्र, इन्दीरा पहारी परिवार, सराङकोट सिमतालका लालबहादुर जिसी परिवारबाट समान ५१ हजार १ सय ५१, लाइन्स क्लव एफ् गोल्डेन चौतारीबाट ५१ हजार १ सय ५ तथा सराङकोट निवासी सुरज, कल्पना केसी परिवारबाट ५१ हजार दान प्राप्त भएको कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिए।
“भोली समापनको दिन घेरै दाता आउँदै हुनुहुन्छ, हामीले त्यही अनुसार तयारी पनि गरेका छौं ।पक्कै पनि हाम्रो लक्ष्य प्राप्ति हुनेछ,” वडाध्यक्ष तथा महायज्ञका सहअध्यक्ष शिवप्रसाद तिमिल्सीनाले भने।महायज्ञ अन्त्यतिर आउदाँ भक्तजनको उल्लेख्य सहभागिता देख्न सकिन्छ। विशेष गरी त्यहाँ आमा समूह, टोल विकास संस्थाको बाक्लो उपस्थिति रहेको छ। महायज्ञको सातौँ दिन मंगलबार, सोमबार जस्तै करिब २० हजार भक्तजनले यज्ञ अवलोकन गरेका छन्।
सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ। हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन्। ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ। त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ।





