सुदुर तथा कर्णालीको पीडा र प्राकृतिक सौन्दर्यलाई बुझ्न ‘लाज शरणम’

Share:

काठमाडौँ । राजनीतिक हिसाबले हेर्ने हो भने देशमा ठूला-ठूला परिवर्तनहरु भए। समय फेरियो, सत्ता फेरियो सँगै थुप्रै नीति नियमहरु पनि फेरिए। सुदुर कर्णालीको दुःख र पीडा फेरिएनन्। आम नागरिकहरुलाई अझै सिटामोल पाउन कठिन छ। झाडापखालामा समेत सामान्य स्वास्थ्य उपचार नागरिकले पाइरहेका छैनन्।

राजधानीले नदेखेको कर्णालीको पीडालाई राज्य सत्तासम्म पुर्‍याउन कलाकारहरुले चलचित्रमार्फत देखाउन खोजेको छ। एउटा ‘लाज शरणम’ फिल्ममात्र नभएर कर्णालीको पुकार हो। हालै मात्र सार्वजनिक भएको चलचित्र ‘लाज शरणम’ मा कर्णालीको पीडालाई दर्साएको छ। कर्णालीको सुन्दर प्राकृतिक दृश्य मात्र होइन, त्यहाँको पीडालाई अझ बढी झल्काएको छ।

नेपालको सिनेमा क्षेत्रले विविध विषयमा आधारित चलचित्रहरू पस्केर दर्शकलाई मनोरञ्जन दिन प्रयास गरिरहेको छ। यही प्रयासको एक उत्कृष्ट उदाहरण हो, ‘लाज शरणम’, जसले महाशिवरात्रिदेखि नेपालभर प्रदर्शनमा आएसँगै चर्चाको केन्द्र बनेको छ। जेपीटी क्रिएशनको निर्माणमा बनेको यस चलचित्रले नेपाली समाज, राजनीति, र विकट कर्णालीको यथार्थलाई पर्दामा प्रस्तुत गरेको छ।

‘लाज शरणम’ मा अनुभवी कलाकारहरूको टोलीले उत्कृष्ट प्रदर्शन गरेका छन्। विशेषगरी, सिताराम कट्टेल ‘धुर्मुस’को आगमनले चलचित्रप्रति दर्शकको चासो दोब्बर बनाएको छ। ६० को दशकमा टेलिभिजनको पर्दामा राज गरेका धुर्मुसले लामो समयपछि सिनेमा क्षेत्रमा पुनः प्रवेश गरेकाले यो चलचित्रले प्रदर्शनअघि नै चर्चा बटुल्न सफल भयो। सक्किगोनिका लोकप्रिय कलाकारहरूको अभिनयले दर्शकलाई हलसम्म तान्ने भूमिका खेलेको छ।

चलचित्रको कथा नेपालको विकट कर्णाली क्षेत्रलाई केन्द्रमा राखेर अगाडि बढेको छ। कर्णालीको सुन्दरता र त्यस क्षेत्रको गरीबीलाई पर्दामा उतार्न निर्देशक कुमार कट्टेल ‘जिग्री’ ले सफल प्रयास गरेका छन्। हिमाली क्षेत्रको दुर्गम भौगोलिक अवस्थालाई देखाउँदै, त्यहाँको राजनीतिक उपेक्षाले जनता कति पीडित छन् भन्ने विषयलाई चलचित्रले प्रभावकारी रूपमा उठाएको छ।

चलचित्रको छायांकन नेपालकै हुम्ला जिल्लामा गरिएको छ। हिमालको काखमा रहेका रमणीय दृश्यहरूले दर्शकलाई स्वर्गको झझल्को दिलाउँछन्। तर ती सुन्दर दृश्यभित्र लुकेको गरीबी र समस्याले दर्शकलाई सोच्न बाध्य बनाउँछ। यातायात र खानपिनको अभावका बावजुद निर्माण टोलीले कठोर मेहनत गरेको छ, जुन पर्दामा स्पष्ट देखिन्छ। निर्देशक कुमार कट्टेलले आफ्नो पहिलो निर्देशनमा उत्कृष्टता प्रदर्शन गरेका छन्। कथा र पात्रहरूको निर्वाहबाट चलचित्रले दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्न सफल भएको छ।

‘लाज शरणम’ केवल मनोरञ्जनको लागि मात्र बनेको छैन। यसले नेपालको राजनीतिक प्रणाली र नेताहरूलाई कटाक्ष गर्दै ठोस सन्देश दिन सफल भएको छ। चलचित्रले कर्णाली क्षेत्रको वास्तविकता, राजनीतिक उपेक्षा, र विकासको अभावलाई यथार्थपरक रूपमा चित्रण गरेको छ। एआई प्रविधिको युगमा समेत नेपालका केही क्षेत्रहरूको यथार्थ कति पीडादायी छ भन्ने कुरा चलचित्रले उजागर गरेको छ।

चलचित्रले हास्यरस, गम्भीरता, र भावनात्मक पक्षलाई सन्तुलित ढंगले प्रस्तुत गरेको छ। कतिपय दृश्यले दर्शकलाई गुदगुदाउने मात्र होइन, आँसु झार्नसमेत बाध्य बनाउँछ। सुरुदेखि अन्त्यसम्म कौतूहलता कायम राख्न सक्नु यस चलचित्रको ठूलो विशेषता हो।

‘लाज शरणम’ एक पटक हेर्नै पर्ने चलचित्र हो। यसको कथा, निर्देशन, र अभिनयले नेपाली सिनेमा क्षेत्रमा नयाँ उचाइ थपेको छ। राजनीतिक कटाक्ष, सामाजिक यथार्थ, र कर्णालीको सौन्दर्यसँगै यसको पीडा समेटिएको यो चलचित्रले दर्शकलाई मनोरञ्जनमात्र होइन, गहिरो सोचन र समर्पणको भावना दिन्छ।

नेपाली सिने उद्योगको परिपक्वता झल्काउने यस चलचित्रले देशभित्र मात्र होइन, विदेशमा समेत राम्रो प्रतिक्रिया बटुलिरहेको छ। कर्णालीको पीडा र सौन्दर्यलाई बुझ्न चाहने हरेक नेपालीले ‘लाज शरणम’ अवश्य हेर्नुपर्छ।

मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’

यसैबीच व्यापारिक रूपमा सफलताका साथ चलिरहेको चलचित्र ‘लाज शरणम्’ को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ भर्खरै बजारमा आएको छ। निर्माण टिमले रिलिजको थरेको तेस्रो दिनमा गीत सार्वजनिक गरेका थिए । जसमा सुरज पण्डितको स्वर रहेको छ।

कुमार कट्टेलको निर्देशन रहेको चलचित्रको गीतमा वसन्त उदासको शब्द र संगीत समावेश गरिएको छ। गीतको भिडियोमा डोल्पाका मनोरम दृश्यहरू समेटिएको छ भने, कर्णालीको विपन्न परिवारको कथा देखाइएको छ। भिडियोले एक दम्पतीको दुःखसुख र संघर्षलाई भावुक ढंगले प्रस्तुत गरेको छ।

गीतको भिडियो हेर्दा कर्णालीका सुन्दर दृश्यहरू मात्र होइन, त्यहाँका सरल र पवित्र मन भएका मानिसहरूको जीवनशैली पनि देख्न पाइन्छ। चलचित्रका मुख्य पात्र महेश त्रिपाठी र रेणु योगी फिचर्ड रहेको यस गीतले सिनेमाको मुख्य कथावस्तु झल्काएको छ।

‘च्यातिएको चोली’ गीतमार्फत दर्शकलाई कर्णालीसँग भावनात्मक रूपमा जोड्ने प्रयास गरिएको छ। यस गीतले दुई मुख्य पात्रबीचको प्रेमकथा तथा उनीहरूको संघर्ष र अभावलाई उजागर गरेको छ।

चलचित्र हेर्ने दर्शकका लागि महेश त्रिपाठी र रेणु योगीको अभिनय विशेष आकर्षण बनेको छ। कर्णालीको प्राकृतिक सौन्दर्य तथा पात्रहरूको गहिरो अभिनयले दर्शकको मन जित्न सफल भएको देखिन्छ।

लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को टिमले निर्माण गरेको ‘लाज शरणम्’ मा महेश त्रिपाठी, सिताराम कट्टेल (धुर्मुस), विजय बराल, रेणु योगी, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौलालगायतका कलाकारहरूको उत्कृष्ट अभिनय देख्न सकिन्छ। साथै प्रियाना आचार्य, अर्पण थापा, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायतका कलाकारहरूले पनि चलचित्रमा महत्त्वपूर्ण भूमिका निभाएका छन्।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह-निर्माताको रूपमा रहेका छन्। ‘लाज शरणम्’ ले प्रदर्शनको पहिलो दिन नै प्रभावशाली व्यापार गरेको छ। वितरकका अनुसार, पहिलो दिन मात्र चलचित्रले १ करोड १० लाख रुपैयाँको ग्रस कलेक्सन गर्न सफल भएको छ। चलचित्रप्रति दर्शकको सकारात्मक प्रतिक्रिया देखिएको छ र यसको व्यापार अझै बढ्ने अपेक्षा गरिएको छ।

भिडियो हेर्नुहोस्:

कमेन्ट गर्नुहोस्
Share: