
पोखरा । चीनको सिचुवान प्रान्तबाट आएका उद्योगी,व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका पदाधिकारीबीच व्यावसायिक सहकार्यको सहमति जुटेको छ। पोखरा भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँगको छलफलपछि सो सहमति जुटेको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए।
सिचुवान चीनको छैटौं ठूलो अर्थतन्त्र भएको प्रान्त हो। मदिरा, बाँसका उत्पादनका निम्ति यो प्रान्त प्रसिद्ध छ। यसका अलावा पछिल्लो समय यो प्रान्तले विद्युतीय गाडी र सामग्री उत्पादन पनि उत्तिकै बढाएको छ।
चिनियाँ प्रतिनिधिमण्डलमा विदेशबाट सिचुवान फर्किकाहरुको संगठन (सिचुवान प्रोभिन्सीयल रिटन्र्ड ओभरसिज चाइनीज फेडरेसन) का महासचिव सु यान्माइ,सोही संस्थाका अधिकृत जी जुन्चेङ, लुजुका अध्यक्ष जियाङ याङ्कीयाङ,महासचिव उ जोङ,वाइन निर्माता लुजु लाजियो ग्रुप अफ कम्पनीका उपाध्यक्ष यायो सिन्जियान र लुजु लाजियो ग्रुप अफ इन्भेष्टभेण्टका अध्यक्ष वाङ गङ थिए।
प्रतिनिधिमण्डलको स्वागत गर्दै संघका अध्यक्ष गोकर्ण कार्कीले विश्वका दुई ठूला जनसंख्या भएका भारत र चीनजस्ता दुई देशको व्यापारिक सम्बन्ध बिस्तारका निम्ति पुलको काम गर्न आफूहरु तयार रहेको बताए।
उनले नेपाल र चीनबीच भएका सम्झौता अनुरुप जडिबुटी, भैंसीको मासु, माछा र अमिला फलफूल, हस्तकलाका सामाग्रीहरु निर्यात गर्न नेपाली व्यवसायी तत्पर रहेको पनि बताए।
प्रत्युत्तरमा बोल्दै विदेशबाट सिचुवान फर्किकाहरुको संगठन (सिचुवान प्रोभिन्सीयल रिटन्र्ड ओभरसिज चाइनीज फेडरेसन ) का महासचिव सु यान्माइले सिचुवानको राजधानी छेन्दुबाट पोखराको सिधा उडानले पोखराको प्रवद्र्धन हुने विश्वास व्यक्त गरिन्।
‘दक्षिण एसिया विश्वकै ठूलो बजार हो। हामी त्यो बजार चाहन्छौँ। नेपाल र पोखरामा कस्ता उद्योगहरुमा लगानी गर्न सकिन्छ, यहाँ के सामग्री पठाउन सकिन्छ भन्नेबारे हामी यहाँहरुसँग सहकार्य गर्छौँ,’ उनले भनिन्, ‘पोखरा-छिन्दु सिधा उडानले अन्य देशका पर्यटनहरु पोखरा हुँदै चीन पुग्ने बाटो खुलेको छ। हामी पर्यटन क्षेत्रमा पनि सहकार्य गर्नेछौँ।’
कार्यक्रममा पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठसहित पोउवा संघका उपाध्यक्षद्वय दिनेश बास्तोला, बलराम आचार्य, महासचिव शोभा गौतम, कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ, उपमहासचिव सुदीप प्रधानाङ्ग लगायतको उपस्थिति थियो।
