धवलागिरीमा ट्रयाक्टर दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

Share:

पोखरा । म्याग्दीको धवलागिरि गाउँपालिका- २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। लुलाङ–गुर्जा सडक खण्ड अन्तर्गत नकटेडाँडाबाट लुलाङ गाउँतर्फ आउने क्रममा बिहीबार साँझ करिब ५ बजेतिर ग १ त ७१९६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षे देविन विक र २१ वर्षे पूर्णलाल रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।

पूर्णलालको घटना स्थलमै मृत्यु भएको हो भने अर्का देविनको लुलाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो। ४ जना घाइतेमध्ये २ जना स्थानीय कविराज विक र कमल विक छन्। मालिका गाउँपालिका-६,दरबाङका विकास विक र धवलागिरि गाउँपालिका-४,किस्मत विक समेत घाइते भएकफ वडाध्यक्ष अकप्रसाद विकले जानकारी दिए।

घाइते ४ मध्य १ जनालाई पोखरा ल्याइएको छ भने ३ जनाको बेनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। सडकबाट करिब डेढ सय मिटर तल खसेर ट्याक्टर खोँचमा अड्किएको थियो। वडाध्यक्ष विकका अनुसार,केही जङ्गलमा घुमेर र केही सडक ढलान योजनाको काम गरेर फर्किंदै थिए।

सोही गाउँपालिका-७,ताकमका २७ वर्षीय राजकुमार सुनारले चलाएको उक्त ट्याक्टरमा ७ जना सवार रहेका थिए। ट्याक्टर दुर्घटनाबारे अनुसन्धान सुरु भएको जिप्रका म्याग्दीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी चौकी ताकमबाट प्रहरी साँझ घटनास्थलमा पुगेका थिए।

कमेन्ट गर्नुहोस्
Share: