
काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो।
केपी शर्मा ओलीको नेतृत्वमा बसेको सरकारले सुरुदेखि नै घिसिङलाई पदबाट हटाउन खोजिरहेको थियो। यसका लागि पटक-पटक स्पष्टीष्करणसमेत सोधिएको थियो।
विशेष गरी उद्योगीहरुले तिर्नुपर्ने करोडौं बक्यौता रकम उठाउन खोज्दा घिसिङविरुद्ध सरकार र उद्योगीहरु एकमुख भएर लागेका थिए। पछिल्लो समय हिउँदयाममा विद्युत आपूर्ति कम हुँदा घिसिङले उद्योगहरुमा राति विद्युत आपूर्ति घटाएर सर्वसाधारणलाई लोडसेडिङबाट जोगाएका थिए।
यस्तै, प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
उर्जा मन्त्रालयको सिफारिशमा शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए। आज नै बसेको बैठकले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेका थियो।
