बुवाबाटै भइन् बलात्कार, भारतमा पाइन् न्याय

375
0
Share:

काठमाडौँ । आफ्नै बुवाबाट बलात्कृत भएकी एक नेपाली चेलीले भारतको अदालतबाट न्याय पाएकी छन्। पीडित किशोरीका पितालाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। पीडित किशोरीका परिवार भारतको हैदरावादमा बस्दै आएको बताइएको छ। किशोरी र उनको परिवारको परिचय गोप्य राखिएपनि भारतीय सञ्चारमाध्यमले पीडित नेपाली रहेको जनाएका छन्।

सन् २०२३ मा ती किशोरीलाई आफ्नै पिताले बलात्कार गरेका थिए। मुद्दा प्रक्रिया अघि बढाइएपछि पीडित किशोरीलाई आमाले समेत साथ नदिएको बताइएको छ। पोक्सो मामिलाको विशेष अदालतले किशोरीलाई हिम्मत नहारी कानुनी लडाइँ लडेकोमा ढाडससमेत दिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार किशोरीका परिवार नेपालबाट हैदरावादमा पुगेर मजदुरी गर्दै आएको थियो। घरमा सुतिरहेको समयमा किशोरीलाई मादक पदार्थ सेवन गरेर आएका पिताले चक्कु देखाएर धम्की दिँदै बलात्कार गरेका थिए।

आमालाई किशोरीले घटनाबारे जानकारी गराएपछि भोलिपल्ट आमाछोरी नै डोमलगुडा प्रहरी कार्यालयमा पुगेर उजुरी दिएका थिए। सोही आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरेको थियो।मुद्दा प्रक्रिया अघि बढाइएपछि भने आमाले समेत किशोरीको साथ छाडेकी थिइन्। उनले अदालतमा आफ्नो बयान फेरेको बताइएको छ।

तर, अदालतले ११ जना साक्षी, १४ प्रमाण र घटनासँग सम्बन्धित तीन विभिन्न सामग्रीका साथै पीडितकी आमाले उजुरीका समयमा दिएको बयानलाई समेत आधार मानेर आरोपितलाई दोषी ठहर गर्दै सजाय तोकेको हो।

कमेन्ट गर्नुहोस्
Share: