ओलीको थाइल्यान्ड भ्रमण द्विपक्षीय हुने

371
0
Share:

बिमस्टेक सम्मेलनका लागि थाइल्याण्डको ब्यांकक जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई थाइल्याण्डले द्विपक्षीय स्वरुप प्रदान गर्ने भएको छ।  थाइल्याण्डको परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ती जारी गरी प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण औपचारिक हुने जानकारी गराएको हो।

थाइ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा थाइल्याण्डकी प्रधानमन्त्री पातोङटार्न सिनावात्राले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डललाई सरकारी निवासमा  औपचारिक स्वागत गर्नुका साथै विभिन्न सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको उल्लेख गरिएको छ।

थाई परराष्ट्र मन्त्रालयको विज्ञप्तीमा नेपाल र थाइल्याण्डबीच सन् १९५९ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता प्रधानमन्त्रीस्तरबाट थाइल्याण्डमा पहिलो औपचारिक भ्रमण हुन लागेको उल्लेख गर्दै यसलाई ऐतिहासिक भ्रमणको संज्ञा दिइएको छ।

भ्रमणले दुई देशबीच .व्यापार तथा लगानी, कृषि, स्वास्थ्य सेवा, उद्योग, सेवा, पर्यटनलगायतका क्षेत्रमा सहयोग अभिवृद्धि लगायतका विषयमा व्यापक छलफल गर्ने अवसर प्रदान गर्ने उल्लेख छ। साथै भ्रमणका क्रममा पर्यटन र सांस्कृतिक आदान-प्रदानका साथै मानव संशाधन विकासका पहलहरूमार्फत जनता-जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउन सम्भावना खोजिने‍ पनि विज्ञप्तीमा उल्लेख छ।

दुई प्रधानमन्त्रीहरुबीच जलवायु परिवर्तनले सिर्जना गरेको चुनौतिलगायत अन्य विश्वव्यापी चुनौतिका विषयमा छलफल हुने पनि थाई परराष्ट्र मन्त्रालयले जनाएको छ। यसबाहेक बहुपक्षीय ढाँचाभित्र सहयोगका लागि अवसरहरूको खोजी विषयमा छलफल हुने त्यसमा उल्लेख छ।

विज्ञप्तीमा भनिएको छ, ‘नेपाली प्रधानमन्त्रीको भ्रमणले पारस्परिक हित र क्षेत्रीय समृद्धिका लागि लामो समयदेखिको मित्रता र साझेदारीलाई गहिरो बनाउनेछ।’ बिमस्टेक सम्मेलनका सिलसिलामा प्रधानमन्त्री ओली १९ चैतमा बैंकक प्रस्थान गर्दैछन्। सम्मेलनको उद्घाटन भने २२ चैतमा हुनेछ। थाई परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको औपचारिक थाइल्याण्ड भ्रमणको अवधि १-५ अप्रिल (१९-२३ चैत) हुने जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: