पोखरा सभागृहमा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुँदै, प्रवेश नि:शुल्क

Share:

पोखरा । पोखरा सभागृहमा चैत २२ गते शुक्रबार पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुँदैछ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा शुक्रबार दिउँसो ३ बजेदेखि अग्रज लोकदोहोरी गायक न्यौपानेको सांगीतिक साँझ हुन लागेको हो।

प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गरी साँझमा पुरुषोत्तमले १८ गीत सुनाउने जनाएको छ। कार्यक्रममा न्यौपानेको जीवनीमा तयार पारिएको वृत्तचित्र पनि प्रदर्शन गरिने प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले जानकारी दिइन्। सांगीतिक साँझमा प्रवेशका लागि शुल्क लाग्दैन।

पुरुषोत्तमका सररर पानीघट्टामा, ऐना हेरेर, रुन्छ नि मन किन रुदैन जस्ता चर्चित गीत छन्। २०२९ मा स्याङ्जामा जन्मिएका न्यौपाने साढे तीन दशकदेखि लोकसंगीतमा क्रियाशील छन्।

उनका हजारभन्दा बढी गीत रेकर्डिङ छन्। पुरुषोत्तमले २०४६ मा बलाम देबीथान बोलको गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गरेका थिए।

स्वदेशका प्रायः सबै जिल्ला र धेरै विदेशी भूमीमा समेत पुगेर दर्शकलाई मन्त्रमुग्ध पारिसकेका न्यौपानेले थुप्रै सम्मान, पुरस्कार र अवार्ड जितिसकेका छन्।

उनले लोकगीतमा लगातार तीन पटक म्युजिक नेपाल अवार्ड पनि हात पारेका थिए। प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका न्यौपाने अहिले रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरामा कार्यक्रम अधिकृत छन्।

कर्मथलो पोखरा र जन्मघर स्याङ्जा भएकाले पनि सांगीतिक साँझ पोखरामा गर्न लागिएको गायक पुरुषोत्तमले बताए। जन्मघरबाट आउन पायक हुने र स्थानीयसँग सम्बन्ध बढी भएकाले पोखरा रोजिएको उनको भनाइ छ।

अग्रजलाई सम्मान र नवप्रतिभालाई प्रोत्साहन भन्ने नाराका साथ अघि बढेको प्रतिष्ठानले गत वर्ष ‘नारायण रायमाझी सांगीतिक साँझ २०८०’ आयोजना गरेको थियो। बर्सेनी एक प्रतिष्ठित लोकदोहोरी कलाकारलाई प्रस्तुत गर्ने प्रतिष्ठानको योजनाअनुसार कार्यक्रम गर्न लागिएको प्रतिष्ठानकी अध्यक्ष मगरले बताइन्।

लोक संगीतको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यले विस २०५८ सालमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल लोकगीत, संगीत र लोककलाको क्षेत्रमा क्रियाशील हुँदै आएको छ। अहिले प्रतिष्ठानको ७ प्रदेश समिति, १ काठमाडौं उपत्यका समन्वय समिति, ७७ जिल्लास्तरीय समिति तथा १० वटा देशमा आफ्ना शाखा समिति छन्।

कमेन्ट गर्नुहोस्
Share: