पोखरामा आगामी शनिबार दौड प्रतियोगिता हुँदै

Share:

पोखरा। पोखरा महानगरपालिका वडा नं २० मा मासिक/साप्ताहिक दौड अन्तर्गत विद्यालयस्तरीय छात्र/छात्रा ५ र ३ किमि दौड प्रतियोगिता यही चैत्र २९ गते शनिबार हुने भएको छ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजना तथा पोखरा महानगरपालिका वडा नं २० को समन्वयमा उक्त दौड आयोजना हुन लागेको मञ्चका अध्यक्ष दिल बहादुर गुरूङले जानकारी दिए।

उनका अनुसार दौड पोखरा रंगशाला बाहिर पहिलो पटक आयोजना हुन लागेको हो।पोखरा महानगरपालिकाभित्र रहेका ३३ वटै वडामा मासिकरसाप्ताहिक दौड आयोजना गर्ने गरी मञ्चले आफ्नो योजना अघि बढाएको सो कार्यक्रमका संयोजक तेज बहादुर गुरूङले बताए।

उनले भने, “यो हाम्रो मात्रै पहलले हुँदैन यसमा विशेष गरी पोखरा महानगर पालिका, सरोकारवालाहरु, विद्यालयहरु विभिन्न संघ संस्थाहरुको सहकार्य आवश्यक छ। स्वस्थ्य नागरिक उत्पादनका लागि दौड संस्कृतिको विकास र खेलाडी उत्पादन यसमा जोडिएको महत्वपूर्ण विषय हो।”

मञ्चले पोखरालाई दौडैदौडको शहरका रुपमा अघि बढाउन तथा यूवा खेलाडी उत्पादन गर्ने हेतु विगत ३ महिनादेखि निरन्तर विद्यालयस्तरीय छात्र/छात्रा दौड आयोजना गर्दै आएको छ।

पोखरा रंगशालामा सम्पन्न तीन संस्करणको दौडमा विभिन्न विद्यालयका करिब ३ हजारभन्दा बढीको सहभागिता भइसकेको छ। वडा नं २० भलाममा आयोजना हुने उक्त प्रतियोगिताले त्यस क्षेत्रको पहिचान बनाउन समेत योगदान पुग्ने बताउँदै दर्ता खुल्ला गरिएको मञ्चले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: