
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार दिउँसोबाट कुनै पनि उडान हुन सकेन। त्यसको कारण हो वायु प्रदूषण। बिहान नियमित उडान भएपनि ह्वात्तै प्रदूषण बढ्दा उडान अवरुद्ध बने। भिजिबिलिटी नपुग्दा उडान अवरुद्ध भएको विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीले बताइन्।
उनका अनुसार विगत केही दिनयता वायु प्रदूषणको मात्रा उच्च रहँदा उडान प्रभावित हुँदै आएका छन्। यद्यपि पोखरामात्र नभएर समग्र नेपालकै प्रदूषणको दर उच्च हुँदा जनजीवन प्रभावित हुँदै गएको छ।
अन्तर्राष्ट्रिय विमानस्थलको हेल्पडेक्सले आइतबार दिउँसो एक हजार मिटरमात्र भिजिबिलिटी रहेको जनाएको छ। हावामा प्रदूषणको मात्रा बढ्दा कुहिरो लाग्ने, हावाको चाप बढ्दा भिजिबिलिटी कम हुने समस्या देखिएको छ। विमान अवतरणका लागि कम्तीमा २७ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ। धुवाँ र कुहिरोले गर्दा भिजिबिलीटी नपुगेको हो।
एयरपोर्ट पुगेका यात्रु पर्खेर फर्किन बाध्य छन्। आइक्वुएयरका अनुसार आइतबार पोखराको वायु गुणस्तर सूचकांक (एक्वुआई) ९८ मापन गरिएको छ। जुन ‘मध्यम’ श्रेणीमा पर्छ। यद्यपि, केही दिनअघिसम्म यो सूचाकांक १८० देखि २३० सम्म पुगेर ‘अस्वस्थकर’ र ‘अत्यन्तै अस्वस्थकर’ अवस्थामा पुगेको थियो। अत्यधिक प्रदूषणले गर्दा आइतबार दिउँसैबाट विमानस्थलमा प्लेन उड्न नसेका हो।
आइक्युएयरले स्याटलाइटको माध्यमबाट संसारभरिका सहरहरुको हावाको गुणस्तर मापन गर्ने गरेको छ। पोखराको यो तथ्यांकले यहाँको हावा अस्वस्थकर बन्दै गएको पुष्टि गर्छ। एक्वुआई ५० सम्म हुनु राम्रो हो। ५० देखि १ सयसम्मलाई मध्यम मानिन्छ। एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील ठानिन्छ भने २०० सम्म पुगे अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु जोखिमपूर्ण हो भने त्यसभन्दा माथि जानुचाहिँ घातक ठानिन्छ।
यति बेला पोखराको आकाश धुम्मिएको छ। तापक्रमसमेत बढेको छ। धुवाँ र प्रदूषित वायुले पोखरावासीको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ। अस्पतालहरूमा दम, खोकी, एलर्जी, आँखामा जलन, र टाउको दुखाइका बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको चिकित्सकहरूले बताएका छन्। वृद्ध, बालबालिका र दीर्घरोगीहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
