
काठमाडौं | सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले मंगलबार पुनः काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले शान्तिबाटिकादेखि बालुवाटारसम्म र्याली गर्दै सरकार र राजनीतिक दलहरू विरुद्ध आक्रोश पोखेका थिए।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘वित्तीय शोषण अन्त्य गर’, ‘वित्तीय माफियाको संरक्षण गर्ने दल मुर्दाबाद’, ‘बचत अपचलन गर्ने विश्वासघातीको सम्पत्ति जफत गर’, ‘सहकारीमा प्रभावकारी अनुगमन गर’ जस्ता नारासहितका प्लेकार्डहरू बोकेका थिए।
प्रदर्शनकारीहरूको आरोप छ कि करिब २ खर्ब ७५ अर्ब रुपैयाँभन्दा बढीको सहकारी घोटालामा संलग्न व्यक्तिहरू राजनीतिक संरक्षणमा खुलेआम हिँडिरहेका छन्। उनीहरूले सहकारी प्रणालीमा भएका ठगी र संगठित अपराधमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।
यसअघि सोमबार पनि उनीहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवनसम्म प्रदर्शन गरेका थिए।
