आलु महोत्सवमा हालसम्म २५ हजारले गरे अवलोकन, फोटो खिच्नेको भिड

Share:

पोखरा । पोखरामा जारी १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरुवातीसँगै त्यहाँ आलुको पहाडसँगै तस्बिर खिचाउनेहरुको बाक्लो उपस्थिति देखिएको छ। कोही सेल्फीमा रमाएका भेटिन्छन् त कोही आलुको पहाडसँग माया साट्दै तस्बिर कैद गरिरहेका देख्न सकिन्छ। महोत्सव  अहिले तस्बिर खिच्नेहरुको भ्याइनभ्याई छ।

यतिसम्मकी महोत्सवमा पुग्ने प्राय सबैले आलुको पहाडसँगै आ-आफ्नो तस्बिर खिच्ने छन् । उसो त सामाजिक सञ्जालमा राख्नलाई पनि खिचेको अनुमान गर्न सकिन्छ । यही चैत २४ गतेबाट सुरु भएको १३ औं महोत्सव वैशाख ३ गतेसम्म चल्नेछ । यतिवेला महोत्सवको मुख्य आकर्षणका रुपमा आलुको पहाडसँगै तस्बिर खिच्ने थलो बन्न पुगेको छ ।

तस्बिर खिच्न बुढादेखि अनुज एवम् तन्नेरी पुस्ता हौसिएको भेटिन्छन् । सम्झना पनि हुन्छ, कृषि उपजका नाममा महोत्सव हुनु आफैमा महत्वपूर्ण भएको कतिपयको भनाइ रहेको छ । हेमजा कृषिका लागि उर्वर भूमि हो मंगलबार आज आलुको पहाडसँगै तस्बिर खिचिरहेका स्याङजा सेतीदोभान हाल छोरेपाटन निवासी जानुका ढकालले बताइन् ।

यसैगरी मंगलबारसम्म २५ हजार दर्शक बढीले आलु महोत्सव अवलोकन गरेकोमा ४ सय ५० घरपरिवारले आलु खरिद गरी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए । उनले हालसम्म ५ लाख बढीको आलु कारोबार भएको सुनाए ।

महोत्सव अन्तर्गत आज रत्यौली गीत प्रतियोगिता सुरु गरिनुका साथै कलाकारहरु खुमन अधिकारी, जीवन दाहाल, नविन पौडेल, नविना सुवेदी, अमर धिताल, परशुराम अधिकारी, शान्ता बर्देवा, हास्य कलाकार दिपक थापाका प्रस्तुतिहरु रहे ।

त्यस्तै भोली बुधबार कलाकारहरु ज्योति मगर, जीवन दाहाल, रामजी पौडेल, तुलसा क्षत्री, सुमन खड्का, परशुराम अधिकारी, दुर्गा क्षत्री तथा हास्य कलाकारहरु युवराज भण्डारी र राजेन्द्र नेपालीका प्रस्तुतिहरु रहने मूल आयोजक समितिका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा आलु लगायत अन्य सामग्री समेत गरी आज मंगलबारसम्म करिव २५ लाखको कारोवार भएको पनि श्रेष्ठले बताए । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन् ।

त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: