कार्कीनेटा सम्पर्क समाजद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Share:

पोखरा। कार्कीनेटा सम्पर्क समाज पोखराद्वारा शिशुदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई आज शैक्षिक सामाग्री वितरण गरेको छ। अन्नपूर्ण माध्यामिक विद्यालयमा अध्ययनरत करिब ९० जना विद्यार्थीहरुलाई समाजले आफ्नो स्थापना दिवसको अवसरमा झोला, कपी र पेन फलेवास १, कार्कीनेटा वडा कार्यालयमा विद्यार्थीहरुलाई हस्तान्तरण गरेको थियो।

कार्यक्रममा बोल्दै फलेवास नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि चोलाकान्त पाध्याले पछिल्लो समय बसाईंसराई बढ्दै जाँदा गाउँमा बस्नेको संख्या कम हुँदा चिन्ता व्यक्त गरेका थिए। उनले विभिन्न कारणले विदेशिनु, शहर र बजारतर्फ मानिसहरु आकर्षित हुँदै गर्दा गाउँ खाली हुँदै जानुले बसाईसराई नै रोक्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

त्यसैगरी अध्यक्ष पाध्याले सम्पर्क समाजले विभिन्न सामाजिक कार्यहरु कार्कीनेटामा पहिलाबाट नै गर्दै आएको र यसलाई निरन्तरता दिएकोेमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा राजनीतिक सामाजिक कार्यहरुमा पनि सल्लाह र सुझावको खाँचो रहेको उल्लेख गरेका थिए।

त्यसैगरी कार्कीनेटा सम्पर्क समाजका अध्यक्ष हरिप्रसाद शर्माले प्रचारवाजी कार्यक्रम भन्दा पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कामलाई निरन्तरता दिने बताए। उनले रिदम बचाऔं अभियान मार्फत सुरु भएको आकस्मिक सहायताबाट करिब १० जनाभन्दा बढी प्रत्यक्ष लाभान्वित भएको र प्रत्यक्षरुपमा रिदमलाई भेटघाट गर्न पाउँदा खुसी व्यक्त गरेका थिए।

उनले कार्कीनेटाको अभिन्न अंग समाज पनि रहेको बताउँदै सामाजिक सहयोगको आवश्यकता भएको अवस्थामा आफूहरु तत्पर रहेको बताए। अध्यक्ष शर्माले शैक्षिक समाग्री वितरण कार्यक्रममा सहयोगीहरुप्रति धन्यवाद व्यक्त गर्दै आवश्यक सल्लाह र सुझावको अपेक्षा गर्दै शिरोधार्य गर्ने उनको प्रतिवद्धता रहेको थियो ।

त्यसैगरी उनले शिक्षकहरुको मागमा समर्थन हुँदाहुँदै पनि शैक्षिक सामाग्री वितरण कार्यक्रमले शिक्षक आन्दोलनमा प्रभावित नहुने बताउँदै विद्यालय परिसरमा वितरण गर्न नपाउनु दुःखद रहेको उनको गुनासो रहेको थियो।

अन्नपूर्ण माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डण्डपानी शर्माले समाजसेवाको मृगतृष्णा लिएर आएको बताउँदै ‘जन्मदिनलाई विशेष उत्सव स्वरुप र संस्थाको स्थापना दिवसको अवसरमा आफूले पढेको स्थानलाई चयन गरि शैक्षिक सामाग्रीहरु वितरण गर्नुभएकोेमा सबैप्रति कृतज्ञता व्यक्त गर्दछु’ उनले भने।

त्यसैगरी उनले अन्नपूर्ण माविलाई उत्कृष्ट बनाउने जिम्मेवारी भएपनि सोचे अनुसारको शैक्षिक सुधार नभएकोमा आफ्नो पनि कमिकमजोरी रहेको उनको भनाई रहेको थियो। साथै, विद्यालय पुर्खाको सम्पति रहेको र जोगाउने, स्तरीय बनाउने सबै दायित्व बताउँदै आफू जुनसुकैको समयमा पनि विद्यालयको हितप्रति सदा सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए।

समाजका सल्लाहकार ईन्द्रप्रसाद शर्माले आफूले पढेको स्कुललाई केही सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे। सुख र दुःखमा समाजले उल्लेख्य कार्य गरेको आफूले नजिकबाट नियालेको बताएका थिए।

त्यसैगरी सल्लाहकार एवम् पूर्व अध्यक्ष रामचन्द्र शर्मा (आरसी)ले नयाँ कार्यसमितिले विगतका कमिकमजोरीहरुलाई सच्चाउँदै जानेमा आफू विश्वस्त रहेको बताउँदै सहयोगीहरुप्रति धन्यवाद व्यक्त गरेका थिए। कार्कीनेटा सम्पर्क समाजको स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा संस्थाका सदस्यहरुले आफ्नो जन्मदिनको अवसरमा सहयोग गरेका थिए।

सहयोगी तथा अतिथिहरुलाई समाजका तर्फबाट खादा, प्रशंसा पत्र र मायाको चिनोले सम्मान गरिएको थियो। समाजका उपाध्यक्ष धनप्रसाद पाध्याले सन्चालन गरेको कार्यक्रम वरिष्ठ उपाध्यक्ष शिवप्रसाद शर्माले स्वागत गरेका थिए भने अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षतामा भएको थियो।

कार्यक्रममा फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा वडा कार्यालयले कार्कीनेटा सम्पर्क समाज पोखराका नवनिर्वाचित कार्यसमितिलाई खादा लगाएर बधाई ज्ञापन गरेको थियो।

कमेन्ट गर्नुहोस्
Share: