
पोखरा । प्रथम एलिट भलिबल कपमा महिलातर्फ बागलुङ नगरपालिका र एलिट भलिबल ‘बी’ टिम फाइनलमा प्रवेश गरेका छन्। एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा-३ नदिपुरमा जारी प्रतियोगितामा महिलातर्फ सेमिफाइनलमा एलिट भलिबलले पिएन क्याम्पस र बागलुङ नगरपालिकाले शान्ता भलिबल क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका हुन्।
एलिटले पिएन क्याम्पसलाई पहिलो सेट २५-११, दोस्रो सेट २५-१५ र तेस्रो सेट २५-८ ले पछि पार्यो। बागलुङले शान्ता भलिबललाई ३-१ ले हराउन सफल रह्यो। पहिलो सेट १५-२५ ले गुमाएको बागलुङले दोस्रो सेट २५-२१, तेस्रो सेट २६-२४ र चौथो सेट २५-१४ ले आफ्नो पक्षमा पार्यो। सोमबार पुरुषतर्फको सेमिफाइनल र फाइनल खेल हुनेछन्। बिहान साढे ७ बजे पुरुषतर्फको पहिलो सेमिफाइनल पिएन क्याम्पस र पर्वतबिच हुनेछ।
दोस्रो सेमिफाइनल पिरामिड कन्ट्रक्सन हङकङ र न्यू डायमण्ड म्याग्दीबिचको खेल ९ बजेबाट सुरु हुनेछ। पुरुषतर्फको सेमिफाइनलपछि महिलातर्फको फाइनल खेल हुनेछ। महिलातर्फ फाइनलमा बागलुङ नगरपालिका र एलिट भलिबल ‘बी’ टिम भिड्नेछन्। त्यसपछि पुरुषतर्फको फाइनल खेल हुनेछ। उक्त खेल साढे एक बजे सुरु हुने आयोजकले जनाएको छ। आइतबार भएको पुरुषतर्फका खेलमा पर्वत र न्यू डायमण्ड म्याग्दी विजयी भएका थिए।
पर्वतले देउराली युवा क्लबलाई २५-१९, २५-१५ र २५- २३ ले हरायो। न्यू डायमण्ड म्याग्दीले एलिट भलिबललाई ३-१ को सेटले पराजित गर्यो। २८-३० ले गुमाएको न्यू डायमण्डले दोस्रो सेट २५-१६, तेस्रो सेट २५-१९ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्न सफल रह्यो।
प्रतियोगितामा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने टोलीले एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।यसैगरी महिलातर्फ पहिलो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीलाई २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
