
पोखरा । पोखरामा सम्पन्न चौथो मनुश्री भिग्नाजीत जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाण्डौकी सारा पन्तले समान दुई स्वर्ण जितेका छन्। दर्शिलले १६ वर्ष मुनिको ब्वाइज सिंगल्स र ब्वाइज डबल्सतर्फको उपाधी जित्दा साराले गर्ल्स यु-१४ र यु-१२ दुवै इभेण्टमा उपाधि जितिन्।
कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा असव सम्राट हाडालाई ६-१, ६-४ को सोझो सेटमा पराजित गर्दै दर्शिलले सिंगल्सतर्फको उपाधी जिते। दर्शिलले ब्वाइज डबल्सतर्फ सिर्जन भट्टराईसँगको पार्टनरसिपमा फाइनल खेलमा प्रफुल्ल श्रेष्ठ र स्पन्दन उदासको जोडीलाई प्रतिस्पर्धात्मक खेलमा ६-०, ५-७ र १०-४ ले पराजित गर्दै उपाधि कब्जा गरे।
साराले १४ वर्ष मुनि गर्ल्स सिंगल्समा आर्य पौडेलसँगको अन्तिम भेटमा ६–१, ६–४ को नतिजा निकालिन। उनले १२ वर्ष मुनिको सिंगल्स फाइनलमा स्वरा थापालाई ६-२, ६-३ ले पराजित गर्दै दोहोरो जित निकालेकी हुन्। १४ वर्ष मुनिको ब्वाइज सिंगल्सतर्फ साङ्गे रोकायाले आसव सम्राट हाडालाई ६-४, ३-६ र १४-१२ ले पराजित गर्दै प्रथम हुन सफल भए। १२ वर्षमुनीको ब्वाइइज सिङ्गल्समा आरित मल्लले आर्यश राज पौडेललाई प्रतिस्पर्धात्मक खेलमा ३-६,७,–६ र १०-४ ले पराजित गर्दै प्रथम स्थान हासिल गरे।
१६ वर्ष सिंगल्सतर्फ बिजेताले नगद १५ हजार तथा उप–विजेताले नगद ७ हजार ५ सय सहित मेडल प्राप्त गरे। त्यस्तै, १४ वर्ष सिंगलतर्फ बिजेताले नगद १० हजार तथा उप-विजेताले नगद ५ सहित मेडल प्राप्त गरे। १२ वर्ष सिंगल्सतर्फ बिजेताले नगद ८ हजार तथा उप-विजेताले नगद ४ सहित मेडल प्राप्त गरेका छन्। ८, ९ र १० वर्ष मुनि ब्वाइज तथा गर्ल्स सिंगल्स बिजेता तथा उपबिजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गरे।
विजयी खेलाडीहरुलाई प्रतियोगिताका मुख्य प्रायोजक कुमार मोहनबहादुर शाही, उनका नाती भिग्नाजीत, नातिनी मनुश्री, प्रतियोगिता संयोजक एवं कास्की टेनिसका निवर्तमान अध्यक्ष लोक बहादुर गुरुङ्ग लगायतले नगदसहित मेडल, प्रमाण–पत्रले पुरस्कृत गरे।
कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा संघका सचिव भिष्मराज पौडेल र टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले समेत आफ्ना भनाई राख्दै यो पटकको प्रतिस्पर्धाहरु निकै रोमाञ्चक रहेको बताए।
