
पोखरा। नेपाली कांग्रेसका नेता दुर्गा तिमल्सिना नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्यमा मनोननयन भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानको धारा ५१(१)(क) बमोजिम महाधिवेशन प्रतिनिधि र धारा ५१(१)(ख) बमोजिम महासमिति सदस्यमा मनोनित गरेका हुन्।
यसअघि कास्की जिल्लामा २०४८ पछि १२ औं महाधिवेशनमा लक्ष्मीबहादुर भट्टराई महाधिवेशन प्रतिनिधि मनोनित बनेका थिए भने १३ औं महाधिवेशनमा तारानाथ रानाभाट महासमिति सदस्य मनोनित रहेका थिए।
पार्टीमा इमान्दार एवम् निष्ठावान राजनीतिज्ञ एवम् सामाजिक अभियन्ताका रुपमा परिचित नेता तिमल्सिनाले यसअघि पार्टीको पूर्व महासमिति सदस्य, पोखरा उपत्यका नगर विकास समितिको सदस्य एवम् अध्यक्ष, नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ को क्षेत्रीय सभापति, जिल्ला सदस्य, पार्टीको परराष्ट्र समन्वय विभागको सदस्य सहित तीन पटक सम्म विभिन्न विभागको सदस्य बनिसकेका छन्।
२०४३ सालमा कांग्रेसको पञ्चायत उपयोग गर्ने नीति अनुसार कास्कीकोट गाउँ पञ्चायतको उपप्रधानपञ्च निर्वाचित बनेका तिमल्सिना नेपाल विद्यार्थी संघको स्थापना कालदेखि नै सदस्य बनेका थिए। उनी २०३४ सालदेखि २०४९ सालसम्म कास्कीकोट पार्टी इकाइको सभापति बनेका थिए।
२०५५ सालमा नेपाल तरुण दलको जिल्ला सदस्यका रुपमा उनले काम गरेका थिए। प्रतिबन्धित समयमा २०४४ सालमा पार्टीको कृयाशिल सदस्य लिदै गाउँ, क्षेत्र, हुँदै जिल्लासम्मका विभिन्न जिम्मेवारी सम्हालीसक्नुभएका तिमल्सिना सुकुम्वासी समस्या समाधान आयोगको क्षेत्र नं ३ को क्षेत्रीय संयोजक एवम् जिल्ला सदस्य, एमनेष्टी अन्नपूर्ण समूह ५४ को संयोजक जस्ता धेरै सामाजिक जिम्मेवारी पनि समालिसकेका छन्।
नेपालमा लोकतन्त्रको स्थापनाका लागि २०४६ सालमा स्याङजा र २०६१/०६२ मा कास्कीमा राजनीतिक बन्दीका रुपमा जेलजीवन विताएका उनी पटकपटक गिरफ्तार समेत परेका थिए ।
