
गएराति कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। चारैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पलाँता गाउँपालिका-२ राडुनेटा नजिक ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी टेकबहादुर रावतले जानकारी दिए।
पलाँता गाउँपालिकाको थिर्पुबाट छ्लाहा जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार मृत्यु हुनेमा पलाँता गाउँपालिका-५ अम्मा शाही, पलाँता गाउँपालिका-४ ३२ वर्षीय शदु बुढा, पलाँता गाउँपाालिका-४ का अन्दाजी २१ रविन्द्र विक र ट्याक्टर चालक मुगुको खत्याड गाउँपालिका-५ का २० वर्षीय चन्द्रप्रकाश रोकाया छन्।
ट्याक्टर सडकबाट अन्दाजी २ सय मिटर लत भीरमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउने सबैको शव अहिले पनि घटनास्थलमै छ।
प्रहरीका अनुसार मेटिएको अवस्थामा भएकाले ट्र्याक्टरको नम्बर खुलेको छैन। ब्लु बुक पनि भेटिएको छैन। ट्र्याक्टरको इन्जिन सडकबाट २ सय मिटर तल खसेको छ भने ट्रली ६०० मिटर तल खोचमा खसेको छ।
