
पोखरा । गण्डकी प्रदेशको प्रशिक्षण प्रतिष्ठानमा सुरेन्द्रबाबु तिवारी नियुक्त भएका छन् । उम्मेदवार सिफारिस समितिको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तिवारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो।
उनी सहरी योजना आयोग पोखराका निवर्तमान सदस्य हुन् भने विभिन्न कलेजमा अध्यापन गरेको अनुभव छ। सिफारिस समितिले तिवारीसँगै भानु पराजुली र श्रीकृष्ण पौडेलको नाम सिफारिस गरेको थियो।
नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति सरकारले नै गठन गरेको थियो। आवेदन खुलेपछि १४ जनाले आवेदन दिएका थिए।
को हुन् उनी ?
पोखरा-३१, वेगनासताल निवासी तिवारीले अंग्रेजी साहित्यमा एमए गरेका छन्। त्यस्तै, द्वन्द्व, शान्ति र विकास अध्ययनमा पनि स्नातकोत्तर गरेका हुन्। उनी विकास अध्ययनमा पिएचडी शोधार्थीसमेत हुन्।
पोखरा महानगरपालिका सहरी योजना आयोगका निवर्तमान सदस्य उनी विभिन्न तालिम र विकासतर्फ राम्रो अनुभवी हुन्।
गण्डकी प्रदेश र स्थानीय तहमा निर्वाचित, मनोनीत तथा नियुक्त पदाधिकारी एवं कर्मचारीको क्षमता विकास, प्रदेश सरकार र स्थानीय तहका कार्यक्रम कार्यान्वयनमा सहजीकरण, प्रदेश अन्तर्गतका सरकारी तथा अर्धसरकारी निकाय र स्थानीय तहको संस्थागत सुधार एवं शासकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सरकारले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०७५ अन्तर्गत ५ वर्षअघि प्रतिष्ठान स्थापना गरेको हो।
