
पोखरा। पोखरा महानगरपालिका-२७ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। राज्यले अगाडि सारेका १३ वटा रोग विरुद्धका खोपलाई वडा भित्रका २८६ बालबालिकालाई पूर्ण रूपमा लगाएपछि वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो।
राज्यले २०३४ सालदेखि नि:शुल्क रूपमा विभिन्न रोग विरुद्धको खोप लगाउने अभियान सञ्चालन गर्दै आएको छ। पछिल्लो समय २०६९ सालदेखि वार्षिक रूपमा स्थानीय तहले सबै प्रकारका खोपहरू पूरा गर्दै आएकोमा शुक्रबार वडाध्यक्ष पूर्णकुमार गुरुङले वडा नम्बर २७ लाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन्।
वडा मातहतमा रहेको लेखनाथ स्वास्थ्य चौकीले वडा भित्र रहेका १ महिना देखि १५ महिनासम्मका १७८ जना र १६ महिना देखि २३ महिनासम्मका १०८ जना वालवालिकालाई नियमित रूपमा लगाउनु पर्ने १३ प्रकारका खोपहरू पूरा गराएपछि वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत सुभाष बास्तोलाले महानगरपालिकाले स्थानीय स्तरमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै रोग लाग्नुअघि नै अपनाउनु पर्ने होशियारीका बारेमा जानकारी गराएका थिए।
सोही अवसरमा लेखनाथ स्वास्थ्य चौकीकी प्रमुख रिता भट्टराई बास्तोलाले खोपले शिशुलाई निरोगी बनाउने, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र बाल तथा मातृ मृत्यु दर घटाउन राज्यले ल्याएको खोप अभियानलाई सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने धारणा राखेकी थिइन्।
लेखनाथ स्वास्थ्य चौकीका स्वास्थ्य प्राविधिक जानुका सुवेदीले सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्य समितिका सदस्य राजेन्द्रमणि लामिछाने, महिला स्वयंसेविका पिपला सापकोटा लगायतले खोपको प्रभावले वालवालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि भएको दाबी गरेका थिए।
