
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ पोडेमा आइतबार दिउँसो चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा संखुवासभाको सिलीचोङ गाउँपालिका-२ का ४४ वर्षीय भरतकुविर राई र सोही ठाउँका १८ वर्षीय महेश राई रहेको कास्की प्रहरीले जनाएको छ।
कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माका अनुसार आइतबार दिउँसो १ बजेको समयमा परेको चट्याङले उनीहरुो मृत्यु भएको हो।
करिब २८ सय मिटरको उचाईमा उनीहरुले बाटो बनाउने काम (पदमार्ग) गरिरहेका थिए। उक्त स्थानमा बाटोको काम आइतबारबाटै सुरु भएको थियो। काममा ९ मजदुर खटिएका थिए। अन्य ७ जना भने सकुशल रहेका छन्।
मृतकको शव निकाल्न प्रहरी निरीक्षक राजकुमार केसीको नेतृत्वमा प्रहरी टोली पठाइएको डिएसपी शर्माले बताए। पानीसँगै हिउँ परेकाले शव हिउँले पुरेको अवस्थामा रहेको जनाइएको छ।
घटनास्थल पर्यटकीय गाउँ घान्द्रुकदेखि झण्डै चार घण्टाको दुरीमा पर्छ। उक्त स्थानमा पर्यटन बोर्ड र गाउँपालिकाको सहयोगमा पदमार्ग विस्तारको काम हुँदै थियो।
