कस्केली अधिकृत समाजको प्रवद्र्धनात्मक भ्रमण सकियो

Share:

पोखरा । कस्केली अधिकृत समाजको आयोजनामा शनिबार कास्की र लमजुङ जिल्लाका विभिन्न धार्मिक पर्यटकीय स्थलको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न भएको छ। समाजको वार्षिक कार्यक्रम अन्तर्गत कास्की र आसपासका विभिन्न धार्मिक ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रवद्र्धनात्मक भ्रमण सञ्चालन गरिहेकोमा यस वर्ष कास्की र लमजुङ जिल्लाका केही पर्यटकीय गन्तव्यलाई समेटिएको समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले जानकारी दिए।

उनका अनुसार लमजुङको गाउँशहरस्थित लमजुङ दरबार, मध्यनेपाल नगरपालिकास्थित इशानेश्वर महादेव मन्दिर करापुटार, मस्र्याङ्दी गाउँपालिकास्थित हर्क गुरुङ समाधिस्थल पार्क, अपर मस्याङ्दी पावरहाउस बाँध ङादी, कास्कीको रुपातालस्थित जलसिद्ध महादेव लगायतका धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय गन्तव्य समेटिएको हो।

प्रवद्र्धनात्मक भ्रमणका माध्यमबाट विभिन्न गन्तव्यहरूको पर्यटन बजारमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ वर्षेनी कार्यक्रमहरू सञ्चालन गरिदै आइएको उल्लेख गर्दै उनले आर्थिक समृद्धिका लागि पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन एवम् आन्तरिक तया बाह्य पर्यटकहरूको आकर्षण बढाउनुपर्ने बताए।

कार्यक्रमकै क्रममा मस्र्याङ्दी गाउँपालिकामा आयोजित कार्यक्रममा मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले लमजुङ जिल्लाका धेरै पर्यटकीय गन्तव्यहरू पर्यटन प्रवद्र्धनको पर्खाइमा रहेको जनाए। डा. हर्क गुरुङ समाधिस्थल पार्कका अध्यक्ष एवम् मस्र्याङ्दी गाउँपालिका-७ का वडा अध्यक्ष तीलबहादुर गुरुङले डा. गुरुङको योगदानलाई जीवन्त राख्न समाधिस्थल पार्क बनाइएको बताए।

समाजका सचिव महेश पौडेलले समाजको यस कार्यक्रमले लम्जुङ दरबारको ऐतिहासिकता, इशानेश्वर महादेवको धार्मिक एवम् सांस्कृतिक महत्वका साथै यस क्षेत्रका विविध पर्यटकीय सम्भावनालाई उजागर गर्न खोजेको बताए। कास्की जिल्लामा जन्मस्थान भई निजामति एवम् नेपाल सरकारको पूर्ण स्वामित्व रहेका सार्वजनिक संस्थानमा अधिकृत वा सो भन्दा माथिल्लो तह एवम् श्रेणीमा आवद्ध करिब ४५० अधिकृत कर्मचारीहरू आजीवन सदस्यका रुपमा समाजमा आवद्ध रहेको उनले जनाए।

समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत पनि विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाई छ। समाजले यसअघि स्याङ्जाको नुवाकोट, बाग्लुङको पञ्चकोट, बाग्लुङ कालिका मन्दिर, स्याङ्जा तथा पर्वतका डहरे देउराली, अन्धाअन्धी दह लगायतका स्थानको प्रवद्र्धनात्मक भ्रमण कार्यक्रम सम्पन्न गरिसकेको छ।

यसवर्षको प्रवद्र्धनात्मक कार्यक्रममा ६० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक वासुदेव पौडेलले जनाए। पछिल्ला वर्षमा समाजका प्रवद्र्धनात्मक कार्यकममा आकर्षण बढीरहेको उनको भनाइ छ। कार्यक्रममा समाजका सल्लाहकारहरू दुर्गाबहादुर शाह (बाबा), प्रेमप्रकाश गौतम, बिष्णुप्रसाद बराल, शिबहरि शर्मा, कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्य,लोकगायिका प्राज्ञ हरिदेवी कोइराला लगायतको सभागिता थियो।

कमेन्ट गर्नुहोस्
Share: