
पोखरा । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले प्राकृतिक श्रोत वन क्षेत्रलाई समृद्धिसँग जोड्नुपर्ने बताएका छन्। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशको दोश्रो परिषद्को आज पोखरामा उद्घाटन गर्दै उनले प्रदेश सरकार वन पैदावार उपयोग नीति सर्वसुलव बनाउन प्रतिवद्ध रहेको बताए। सरकारले दिगो वन व्यवस्थापन निर्देशिका तयार गरि रहेको जानकारी दिंदै उनले भने, ‘यसले सम्पन्न वन भएका समुहसँग कर लिएर आर्थिक अवस्था कमजोर भएका वन समुहलाई सहयोग गर्ने नीति रहेको छ त्यसका लागि सवैको साथ र सहयोग अपरिहार्य छ।’
सामुदायिक वन समुहले संरक्षण र प्रवद्र्धनमा गरेको योगदानको उच्च कदर गर्दै उनले वनलाई रोजगारी र आयआर्जनसंग जोड्नका लागि आवश्यक जडिबुटी प्रशोधन केन्द्र, फर्निचर, प्लाई लगायतका विभिन्न उद्योग सञ्चालन गरेर विदेशी काठ तथा काठजन्य सामाग्री आयातलाई विस्थापित गर्नुपर्नेमा आवश्यक औँल्याए।
मानव वन्यजन्तु द्धन्द पिडीतलाई एक करोड ७० लाख बराबरको क्षेतिपूर्ति वितरण गरेर जनतामा आशा जगाउन सफल भएको बताउँदै आवश्यक डकुमेण्ट पुरा भएका पिडीतलाई राहत उपलव्ध गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको जानकारी दिए। सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष ठाकुर भण्डारीले उपभोक्ताले रगत पसिना खर्चेर संरक्षण गरेको वन उपयोगमा सरकारले सर्वसुलभ गर्नेतर्फ ध्यान नदिँदा वन संरक्षणमा समेत चुनौति थपिदै गएको बताए।
मुलुकमा वन क्षेत्रको विस्तार हुँदै जाँदा वन्यजन्तुको संख्यामा समेत वृद्धि हुँदा वन्यजन्तु वस्तिमा पसेर मानव तथा कृषि उत्पादनमा ठूलो नोक्सानी गर्दै आएको बताउँदै उनले वन्यजन्तु घटाउन तीनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिए। समृद्धिको बाधकको रुपमा देखिएको जङ्गली जनावरको व्यवस्थापन गर्नुपर्नेमा जोड दिंदै उनले बाघ प्रजनन केन्द्र खोलेर उत्पादन भएका बाध विश्व बजारमा विक्री गर्न सके अरवौ रुपैया आम्दानी गर्न सकिने सुनाए।
सरकारले वन समुहका कार्ययोजना नविकरण गर्नेतर्फ ध्यान दिनुपर्नेमा आवश्यकता औल्याउँदै उनले सामुदायिक वनमा कर शुन्य वनाउन सरकार समक्ष माग गरे। सामुदायिक वन क्षेत्रमा निर्माण हुने हाईड्रोपावर, केवुलकारको कारण चटपट,पानी, चिया पसल गरेर जिविकोपार्जन गर्दै आएका साना व्यापारिलाई विस्तापित हुनुपरेको बताउँदै उनले त्यस्ता योजनाले स्थानीयवासिन्दालाई रोजगारी र शेयर दिनुपर्नेमा जोड दिए।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ स्थायी सदस्य सरिता कुमाल, नरवहादुर गुरुङ्ग, देवबहादुर कार्की, केन्द्रिय सदस्य हरि बास्तोला, खुमप्रसाद सुवेदी, सिता खड्का, गैसस महासंघ गण्डकी प्रदेशका अध्यक्ष गोपाल खड्का, निजी तथा पारिवारिक वन प्रदेश अध्यक्ष सन्तु सुवेदी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनिता श्रेष्ठ लगायतले वनको महत्व र उपभोक्ताले पु¥याउँदै आएको योगदानका बारेमा प्रकाश पारेका थिए। महासचिव आसु विश्वकर्माले पेश गरेको सांगठानिक र कोषाध्यक्ष लिला दवाडीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको परिषद्मा उपाध्यक्षद्धय खगराज सापकोटा र किशोर सापकोटाले प्रदेशले गरेका गतिविधिबारेमा जानकारी गराएका थिए।
