कर्मचारी र व्यवसायीलाई कुट्ने पोखरा महानगर ४ का वडाध्यक्ष पराजुली पक्राउ

Share:

पोखरा। कास्कीको पोखरा महानगरपालिका-४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छ। उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो। पराजुलीमाथि सार्वजनिकहित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको कास्की प्रहरीका एक अधिकारीले जानकारी दिए।

वडाध्यक्ष पराजुलीले मंगलबार पोखरा महानगरपालिकाका एक कर्मचारी र पन्थी गल्लीका एक व्यवसायीमाथि हातपात गरेका थिए। यद्यपि, उनले आफूले प्रतिरक्षा मात्र गरेको दाबी गर्दै आएका छन्।

कुटिएका व्यवसायीले वडा कार्यालयमा नै उनीविरुद्ध नाराबाजी समेत गरेका थिए भने मंगलबार साँझ कास्की प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मंगलबार वडाध्यक्ष पराजुलीले महानगरको प्रशासन महाशाखाका सातौँ तहका अधिकृतमाथि प्रमुख प्रशासकीय अधिकृतकै सामुन्ने हातपात गरेका थिए।

उक्त घटनालगत्तै कर्मचारी संगठनहरूले विज्ञप्ति निकालेर विरोध जनाएका थिए। “‘निन्दनीय घटनाप्रति हामी पोखरा महानगरपालिकमा क्रियाशील कर्मचारी संगठनहरूको तर्फबाट घोर भर्त्सना गर्दछौँ । उक्त घटनामा संलग्न व्यक्ति उपर २४ घन्टाभित्र कानुनबमोजिम कारबाही गर्न ध्यानाकर्षण गर्दछौँ, अन्यथा मिति २०८२ वैशाख २४ गतेदेखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प गरी अन्य आन्दोलनका कार्यक्रमहरू अगाडि बढाइने व्यहोरा समेत जानकारी गराउँदछौँ,” विज्ञप्तिमा भनिएको छ।

कर्मचारीहरूकै आन्दोलनका कारण बुधबार पोखराका वडाहरूमा समेत काम प्रभावित भएको छ। स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले मंगलबार नै संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका थिए। उनीहरूकै अग्रसरतामा आन्दोलन भएको हो। कर्मचारीहरूको जाहेरी भने प्रहरीमा हालसम्म गएको छैन।

कमेन्ट गर्नुहोस्
Share: