प्रधानमन्त्रीकप भलिबल प्रतियोगिता आजदेखि, गण्डकी, एभरेस्ट र हेल्प नेपालको विजयी सुरुवात

Share:

पोखरा। नवौं प्रधानमन्त्री कप (पीएम कप) भलिबल लिगको पुरुषतर्फ गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ। पोखरा रंगशालास्थित कभर्डहलमा बिहीबारदेखि सुरु भएको लिगमा पाकिस्तानी खेलाडी सम्मिलित गण्डकीले कोशी प्रदेशलाई ३-१ सेटमा पराजित गर्दै पहिलो जित हात पारेको हो।

खेलमा गण्डकीले २५-१५, २५-२१, २२-२५ र २५-२० को सेटमा जित निकाल्दै कोशीमाथि दबदबा जमायो। प्रतियोगितामा सहभागी पाकिस्तानी खेलाडीको प्रदर्शन उल्लेखनीय रहृयो।

त्यसअघि बिहीबार पुरुषतर्फकै पहिलो खेलमा एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। एपीएफले २५-१९, २५-१६ र २५-१६ को सेटमा सहज जित निकाल्दै लिगको सफल सुरुवात गर्‍यो।

पुरुषतर्फ टिपटप हेल्प नेपालले आर्मीलाई ३-० को सोझो सेटमा पाखा लगायो। तीन पाकिस्तानी खेलाडी लिएर लिगमा उत्रिएको साबिक विजेता हेल्प नेपाललाई आर्मीले पहिलो सेटमा कडा चुनौती दिएको थियो। पहिलो सेट ३०-२८ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले दोस्रो र तेस्रो सेट २५-२१ र २५-२० मा जित निकाल्यो।

महिलातर्फ एभरेस्ट भलिबल क्लब र एपीएफ क्लबले विजयी सुरुवात गरेका छन्। राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको नेतृत्वमा रहेको एभरेस्टले त्रिभुवन आर्मी क्लबमाथि पुनरागमन जित निकाल्यो। पहिलो सेट २२-२५ गुमाएको एभरेस्टले त्यसपछि २५-१९, २५-१७ र २५-१३ को सेटमा जित हात पार्‍यो। एभरेस्टमा तीनजना थाइल्यान्डका खेलाडी छन्।

त्यसअघि महिलातर्फकै पहिलो खेलमा एपीएफले कर्णाली प्रदेशलाई २५-१०, २५-१० र २५-१५ को सोझो सेटमा पराजित गर्दै प्रतियोगिता विजयबाट सुरु गरेको थियो। हाल पुरुषतर्फ नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लबबीच खेल भइरहेको छ।

प्रतियोगितामा महिलातर्फ ६ टोली र पुरुषतर्फ ८ टोलीको सहभागिता छ। लिगको आधारमा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन्। नेपाल भलिबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता एक साता सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन खेलकुदमन्त्री तेजुलाल चौधरीले गरेका थिए।

महिला र पुरुषतर्फ विजेता टोलीले ८ लाख, दोस्रो हुनेले ४ लाख र तेस्रोले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार र विधागत उत्कृष्ट खेलाडीलाई २५-२५ हजार रुपैयाँ पाउनेछन्। लिगका विजेता दुई टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा सहभागी हुनेछन्।

कमेन्ट गर्नुहोस्
Share: