पोखराको प्याराग्लाइडिङ अब पुरानै ठाउँमा, शुल्क ८ हजारभन्दा बढी

Share:

पोखरा । पोखराको प्याराग्लाइडिङ पूरानै ठाउँमा सरेको छ। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि मान्द्रेढुंगा पुर्याइएको प्याराग्लाइडिङ उडान अब तोरीपानीबाट गर्ने भएको हो। नेपाल नागरिक उड्ययन प्राधिकरणले तोरीपानीबाट उडान भरेर खपौंदी र चंखपुर क्षेत्रमा ल्याण्ड गर्ने गरी अनुमति दिएको नेपाल हवाई खेलकुद संस्था ‘ना’ का अध्यक्ष अनिल केसीले जानकारी दिए। कुनै समय पोखराको ब्राण्ड बनिसकेको प्याराग्लाइडिङ स्थानान्तरण गर्दा लोप हुने अवस्थामा पुगेको थियो।

नाले लामो समय प्रयास गरेपछि पूरानै ठाउँमा सारेर प्याराग्लाइडिङ उडान र अवतरणको व्यवस्था मिलाएको केसीको भनाई छ। ‘पोखरा एकसमय प्याराग्लाइडिङका लागि मात्रै आउने पर्यटक पनि थिए । अहिले पोखरा आइसकेका पर्यटकले पनि प्याराग्लाइडिङ नगरी फर्किने अवस्था बन्यो,’ उनले भने, ‘कतिपयलाई पोखराबाट प्याराग्लाइडिङ विस्थापित भैसकेको भन्ने हल्ला पुगेछ। अब हुँदैन भनेर पूरानै ठाउँमा सार्न पहल गरेका हौँ।’

उनका अनुसार अहिले ११ बजेदेखि ३ बजेसम्म हुँदै आएको उडान अब ११ बजेदेखि साढे ४ बजेसम्म गर्न मिल्ने भएको छ। नाका महासचिव बलराम आचार्य उडान र अवतरणको स्थानान्तरणसँगै पोखराको प्याराग्लाइडिङ पूरानै अवस्थामा फर्किने विश्वास गर्छन्। ‘मान्द्रेढुंगा पुगेपछि त प्याराग्लाइडिङ उडेको पोखराबाट देख्न सकिँदैनथ्यो। धेरैजना झुक्किनुभएछ। कतिपय नकारात्मक प्रचार पनि भएछ,’ उनले भने, ‘तोरीपानीबाट उडेपछि पोखराबाट सहजै प्याराग्लाइडिङ देख्न सकिन्छ। पर्यटकहरुले फेरि रुचाउने छन् र पूरानै अवस्थामा फर्किनेछ भन्ने विश्वास लिएका छौँ।’

विमानस्थल निर्माणअघि यहाँका प्याराग्लाइडिङ कम्पनीले दिनमै ७ सय जनासम्म सिजनमा उडाउने गर्थे। ठाउँ सरेपछि सिजनमै २ सय जना हाराहारी मात्रै उड्ने गरेका छन्। प्याराग्लाइडिङ व्यवसाय सुस्ताएपछि दर्ता भएका कम्पनी पनि विस्थापित भए, पाइलटहरु पनि पलायन भएका छन्। हवाई खेलकुद संस्थाका अनुसार ६० कम्पनी दर्ता भएकोमा अहिले ५३ कम्पनीले मात्रै नियमति उडान भर्छन्।

यहाँ प्याराग्लाइडिङ उडाउन ३ सय ९९ जना पाइलटले अनुमतिपत्र लिएका छन्। तर २ सय ६० जना मात्रै अहिले सक्रिय रहेका र अन्य पलायन भएका महासचिव आचार्यले जानकारी दिए। ‘रोजीरोटी नै नचल्ने अवस्था आएपछि बसिरहने कुरा पनि भएन,’ उनले भने, ‘धेरै पाइलटले पेसा परिवर्तन गरे। कतिपय विदेश गैसकेका छन्।’

राज्यले लिने कर र शुल्क महंगो भएका कारण पनि कतिपय कम्पनीहरु सक्रिय हुन सकेका छैनन्। पोखरामा हुने प्याराग्लाइडिङमा उड्दा न्यूनतम ७ हजार ५ सयदेखि अधिकतम ८ हजार ५ सयसम्म शुल्क तोकिएको छ।

कमेन्ट गर्नुहोस्
Share: