पाँच प्रदेशका विभिन्न भूभागमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी ?

Share:

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले सोमबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको छ।

महाशाखाको वेभसाइटमा उल्लेख भए अनुसर झापाको शनिश्चरे र इलामको बरफल्याङमा एक घन्टामा ५ मिलिमिटर वर्षा भएको छ। ललितपुरको टिकाथली, कास्कीको ज्यामिरेबारी, सुर्खेतको रातानांग्लामा पनि छिटपुट वर्षा भएको छ।

कैलालीक धनगढीमा पछिल्लो एक घन्टामा ११.६ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै कञ्चनपुरको दोधारामा १०.२ र कृष्णपुरमा ८.६ मिलिमिटर वर्षा मापन भएको छ। सोमबार दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ।

दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै देशको उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

कमेन्ट गर्नुहोस्
Share: