
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लागुऔषध दुर्व्यसनीका कारण अपराध, स्वास्थ्य समस्या, बेरोजगारी, पारिवारिक विखण्डन समाजमा बढ्न थालेको बताएका छन्। जिल्ला प्रशासन कास्कीद्वारा पोखरामा आइतबार आयोजित लागुऔषध तथा मदिरा नियन्त्रण सम्बन्धी कार्याशालामा बोल्दै मुख्यमन्त्री पाण्डेले पर्यटकीय राजधानी पोखरामा आउने पर्यटकलाई यो ठाउँ लागुऔषध दुर्व्यसन मुक्त क्षेत्र हो भन्ने पहिचान कायम गराउन सबैले ध्यान दिन जरुरी रहेको बताए ।
उपचारका लागि प्रयोग गर्न ल्याइएका औषधीहरु लागु औषधको रुपमा प्रयोग हुने गरेको तथ्यमाथि बोल्दै मुख्यमन्त्री पाण्डेले औषधी व्यवसायी, मेडिकल सञ्चालक र चिकित्सकहरुले विषेश ध्यान दिनुपर्ने र यसमा सरकारबाट निरन्तर नियमन आवश्यक रहेको उनको भनाइ छ।
‘गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता भएको छ, अहिले अर्थ तथा विकास समितिमा छलफलको क्रममा रहेको छ’, उनले भने, ‘मदिरा नियन्त्रण होइन की अवैद्य मदिरा नियन्त्रण गर्नुपर्छ।’
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले लागुऔषध, मदिरा लगायतका दुर्व्यसनी नियन्त्रणमा पहिलो दायित्व परिवार रहेको बताउँदै यसबाहेक शिक्षक, अविभावकले बालबालिकालाई लागुऔषधको असरबारे सचेत गराउन सकिने बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सरकारी एकल प्रयास मात्र नभई सबैको साझा प्रयासले मात्र लागुऔषधको प्रयोगलगायत अन्य आपराधिक गतिविधिलाई निरुत्साहित गर्न सकिने बताए। उनले यस्ता काममा नेपाल प्रहरी र सरकार मातहतका निकायलाई सघाउनु सबैको दायित्त्व रहेको उल्लेख गरे ।
एघार जिल्लाका प्रतिनिधि रहेको सो कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक रमेश पण्डितले कार्यपत्र प्रस्तुत गर्दैगत वर्षको तुलनामा यस आवमा लागुऔषधका आपराधिक घटनामा कमी आएको तथ्याङ्क प्रस्तुत गरे ।
सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल, प्रशासकिय अधिकृत रामप्रसाद सुवेदीले लागु औषधको बारेमा बोलेका थिए भने ११ जिल्लाका प्रतिवेदनमाथि छलफल गरिएको थियो।
