८ हजार मिटरको पहिलो पाइला अन्नपूर्णमा, ७५ वर्षपछि आधार शिविरमा महोत्सव मनाइने

Share:

पोखरा । अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मि ) आरोहणको ७५ वर्ष पुरा भएको अवसरमा हिरक महोत्सव मनाइने भएको । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृन्वले अन्नपूर्ण प्रथम हिमालको सफल आरोह गरेको थियो। हर्जोगसगै लुइस लचेनल र दुई नेपाली शेर्पा उक्त आरोहणमा सहभागि भएका थिए।

८ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी, अन्नपूर्ण गाउँपालिका म्याग्दीको व्यवस्थापनमा हिरक महोत्सव मनाउन लागिएको सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइयो।

आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा पर्ने भएकाले सोही स्थानमा हिरक महोत्सव मनाइने नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले जानकारी दिए।

महोत्सवमा फ्रान्सलगायत युरोप र अमेरीकासहित देशका १२ राजदुतलाई समेत निमन्त्रणा गरिएको लामिछानेले बताए। अन्नपूर्ण-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा यही जेठ १७ देखि १९ गतेसम्म पदयात्रा गरिने भएको छ।

पदयात्रामा फ्रान्स र नेपालका विशिष्ट व्यक्तीहरुको सहभागिता हुने टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए। ‘मौरिस हार्जोगका छोरा माथियास इमानुएल म्याक्सिमिलियन हार्जोग र उनका परिवारसहितको १४ सदस्यीय टोली नेपाल आइपुगेको छ। नेपाल पर्यटन बोर्डको नेतृत्वमा पर्यटन व्यवसायी र सञ्चारकर्मीको टोली पदयात्रामा सहभागि हुनेछ, आचार्यले भने।

आधार शिविरबाट ३० किलोमिटर दूरीको म्याराथन दौड समेत आयोजना गरिएको अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भरतकुमार पुनले पत्रकार सम्मेलनमा जानकारी दिए। आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गरिने छ। यस्तै आधार शिविरमा निर्माण भएको खुला सङ्ग्रहालय र नारच्याङबाट आधार शिविर जोड्ने पदमार्गलाई मौरिस हर्जोग पदमार्ग नामाकरण गरिएको छ। उक्त पदमार्गको साथै सालिकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पुनले जानकारी दिए।

नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान), अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र अन्नपूर्ण गाउँपालिकाले महोत्सवको संयुक्त आयोजना गरेका हुन्। आधार शिविरमाा विविध कार्यक्रम समेतको आयोनजा गरिने छ। आरोहण दिवस पहिलो पटक आधार शिविरमा मनाउन लागिएको हो।

कमेन्ट गर्नुहोस्
Share: