
पोखरा । कास्की पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा स्थापित हेमजा यूनाइटेडको आयोजनामा “युवा एकता र विकासका लागि खेलकुद” भन्ने मूल नाराका साथ जेष्ठ १० गतेदेखि जारी अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको बुधवार क्वाटर फाइनलका खेल सम्पन्न भएको छ।
वुधवार भएको वडा नम्बर १३ र १५ विचको अन्तिम क्वाटर फाइनलको खेलमा र्निघारित समयमा दुवै टिमले नतिजा निकाल्न नसक्दा खेल ट्राइवेकरमा परिणत भयो। जसमा वडा नम्बर १५ ले वडा नम्बर १३ लाई ३-२ को गोल अन्तरले पछि पार्दै सेमिफाइनल प्रवेश गरेको हो।
जितका लागि वडा नम्बर १५ का जर्सी नम्बर १० का अशोक लामा, जर्सी नम्बर ८ का रोसन सुनवार र जर्सी नम्बर ११ का प्रदिप श्रेष्ठले १/१ गोल गरेका थिए। वडा नम्बर १५ का जर्सी नम्बर १ का बलराम खत्री उक्त खेलको म्यान अफ दि म्याच घोषित भए।
विहिवार सेमिफाइनलको पहिलो खेल आयोजक वडा नम्बर २५ (निलो) र वडा नम्बर १ बिच बिहान ठिक ८ः०० बजे हुनेछ। दोस्रो सेमिफाइनल खेल वडा नम्बर १५ र वडा नम्बर ५ बिच बिहान ठिक १०ः०० बजे हुने खेल संयोजक इन्द्रबहादुर कुवारले जानकारी दिए।
युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठका अनुसार उक्त प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ र उप–विजेताले नगद ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद २ हजार साथमा ट्रफी साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार साथमा ट्रफी प्रदान गरिने बताए।
क्वाटर फाइनलदेखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिएको अध्यक्ष श्रेष्ठले थप उल्लेख गरे। जेष्ठ १७ गते सम्म चल्ने उक्त प्रतियोगितामा ३५ वर्ष भन्दा माथि उमेर समूहको सहभागिता रहेको छ।
पोखरा महानगरपालिका तथा वडा नम्बर २५ को संरक्षणमा प्रतियोगिता आयोजना गरिएको हो। गण्डकी प्रदेश फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ, र जिल्ला फुटबल समितिको विशेष सहयोगीको भूमिका रहेको छ।
