
पोखरा। पोखराको फेवातालमा आगामी जेठ ३१ गते नेपाल पर्यटन बोर्ड र फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगिता हुने भएको छ।
यस प्रतियोगितामा पुरुषतर्फ २१ सय मिटर र महिलातर्फ १५ सय मिटरको दूरीमा प्रतिस्पर्धा गरिनेछ। प्रतियोगितामा ४० टिमको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुने प्रत्येक टिममा तीन जना सदस्य रहनेछन्। टिमले काठबाट बनेको डुंगाको प्रयोग गर्नुपर्नेछ। यदि सहभागीको आफ्नै डुंगा नभए आयोजकले व्यवस्था गर्नेछन्। प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडी दुवैले सहभागिता जनाउन सक्नेछन्।
प्रतियोगिताको उद्देश्य फेवातालको महत्व बुझाउन, पोखराको पर्यटन प्रवर्द्धन गर्न र तालको संरक्षणमा सचेतना फैलाउनु हो। प्रतियोगिताबाट बचत भएको रकम फेवातालको सरसफाईमा खर्च गरिने आयोजकले बताएका छन्।
यस प्रतियोगिताले पोखराको पर्यटन र साहसिक खेलकुदको विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ।
