मर्दी खोलामा डुबेका दुई बालकको शव फेला

Share:

पोखरा । पोखरा महानगरपालिका-२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुई बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ।

माछापुच्छ्रे गाउँपालिका-६ निवासी १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियार बिहीबार दिउँसो करिब १:४५ बजे खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र कटवालको नेतृत्वमा गोताखोरसहितको टोली घटनास्थलमा खटिएको थियो। टोलीले करिब २० फिट गहिराइसम्म खोजी कार्य सञ्चालन गरेको थियो।

सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार विवश परियारको शव दिउँसो २:१० बजे र विशाल परियारको शव ३ बजे फेला पारिएको हो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: