
पोखरा । सरकारले मध्यपहाडी राजमार्गअन्तर्गत नयाँपुल–हेम्जा खण्डमा सुरुङमार्ग निर्माणको काम अघि बढाउने भएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा सो सुरुङमार्गलाई प्राथमिकतामा राखिएको उल्लेख छ।
सम्भाव्यता अध्ययन सम्पन्न भइसकेका सुरुङमार्गमध्ये नयाँपुल-हेम्जा खण्डलाई निर्माणका लागि आवश्यक स्रोत सुनिश्चित गर्दै काम अगाडि बढाइने जनाइएको छ।
यससँगै, दुम्कीबास-बर्दघाट, खुर्कोट-चियाबारी, बबई-छिन्चु, मझिमटार-शक्तिखोर, कुलेखानी-भीमफेदी र धरान-लेउती सुरुङमार्गको निर्माणका लागि पनि स्रोत व्यवस्थापन र तयारी प्रक्रिया अघि बढाइने बजेटमा उल्लेख छ।
त्यस्तै, टोखा-छहरे, शिवपुर-भालुवाङ, रानीघाट-भुरिगाउँ, दोलालघाट-चर्नावती र हात्तीसार-बबई सुरुङमार्गको सम्भाव्यता अध्ययन आगामी वर्ष सम्पन्न गरिनेछ।
पोखरा-बागलुङ सडक खण्डमा पर्ने नयाँपुल–हेम्जा सुरुङमार्ग विगत एक दशकदेखि स्थानीय व्यवसायी तथा पर्वत उद्योग वाणिज्य सङ्घको मागमा आधारित छ। यो सडक साबिक धौलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लालाई प्रदेश राजधानी पोखरासँग जोड्ने एकमात्र वैकल्पिक मार्ग हो।
पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर वि. पौडेलका अनुसार सुरुङमार्ग बनेमा ढुवानी समय र लागतमा उल्लेखनीय बचत हुने, पर्यटन तथा व्यापारिक सम्भावनाको दोहोरो फाइदा मिल्ने र ओझेलमा परेको धौलागिरि क्षेत्रको आर्थिक रूपान्तरण सम्भव हुने बताइएको छ।
हाल पर्वतको कुश्मादेखि पोखरासम्मको दूरी ५८ किलोमिटर छ भने नयाँपुल–हेम्जा सुरुङमार्ग निर्माणपछि दूरी घटेर करिब ७ किलोमिटरमा सीमित हुनेछ।
यसले पोखरामा आउने हजारौं पर्यटकलाई थप सहजता दिने, चीनको कोरल्ला नाका र भारतसँग जोडिएको कालीगण्डकी करिडोरमा प्रत्यक्ष पहुँच बनाउने र मुक्तिनाथ तथा कालीगण्डकी जलयात्रामा पर्यटक आकर्षण बढाउने प्रतिनिधिसभा सदस्य पदम गिरीले बताए।
